मंसिर २६, मोरङ ।
मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए । तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन् ।
शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ ।
विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन् ।
मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कँदै गर्दा बारीबाट नचिनेका दुई जना भाग्दै थिए । को हो भन्दै उनीहरुतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे ।
घरदेखि अली पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ । ‘उहाँ (श्रेष्ठ) ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु, गाई ब्याउन लागेको छ भन्नुभयो’, धनकुमारीले भनिन्, ‘छिमेकीहरु आत्तिदै बाख्रा खोरमै आएर तपाईँको पतिलाई कसैले अपहरण गरेर लगे भने । त्यसपछि सबैजनाले खोज्न थाल्यो । खोज्दै जाँदा बन्दुक पड्किएको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो ।’
उनका अनुसार हत्याराहरुले खसी र एउटा बाख्रा मागेका थिए । ‘उनीहरुलाई श्रीमानले बाख्रा चाहिँ दिने भन्नु भएको थियो । खसी नदिँदा यस्तो घटना भयो’, उनले भनिन् ।
शिक्षक हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ ।
विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् ।
गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।
उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो ।
अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो ।







