वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डेसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी

मंसिर २७, काठमाडौं ।
वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डेले भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।

‘वहाँसहित तीनै जनालाई जनही १०÷१० वर्ष कैद र घूस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउने जति रकम जरिवाना हुने फैसला भएको छ,’ पाण्डेयले भने । शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की तथा सदस्य बालेन्द्र रुपाखेतीको इजालसले उनीसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

तीन वर्ष अघि उनी विभाग परिसरबाटै पक्राउ परेका थिए । अवकाश लिनुभन्दा एक महिना पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको थियो ।

विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी पक्राउ परेको भोलिपल्ट तत्कालीन महानिर्देशक पाण्डे पनि अख्तियारको नियन्त्रणमा पुगे । पहिले पक्राउ परेका दुवै जनाको बयानको आधारमा पाण्डे पक्राउ परेका थिए ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घूस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

उनीमाथि २०७४ पुष ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो । सोही मुद्दाको फैसला सुनाउँदै विशेषले उनलाई दोषी ठहर गरेको हो ।