मंसिर २७, काठमाडौं ।
गत असोजमा नेपाल भित्रिएको रेल ट्र्याकमा थन्किएको तीन महिना पुग्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल आवश्यक तयारी नगरी किन्दा सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू स्वीकार्छन् ।
रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नपुग्ने र अन्तर्देशीय रेलमार्ग भएकोले भारतसँग आवश्यक सहकार्यको खाका तयार हुन बाँकी रहेको विभागका प्रवक्ता अमन चित्रकारले बताए । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने रेल पुस मसान्त भित्रमा सञ्चालनमा आउने दाबी गर्छन् ।
भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ ।
हाल कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि रेल खरिद गरिएको हो । नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो ।
निकै लामो समय लगाएर नेपालले रेल खरिद गरेको भए पनि आवश्यक तयारी पूर्ण हुन नसक्दा रेल थन्किन बाध्य भएको चित्रकारले बताए ।
रेल सञ्चालनका लागि आवश्यक कानुनदेखि दक्ष जनशक्ति उपलब्ध नहुँदा रेल कहिले सञ्चालनमा आउने हो भन्ने कुराको समेत यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । ‘हामीले रेल सञ्चालनका लागि आवश्यक केही जनशक्ति ’आउटसोर्स’ नगरी हुँदैन,’ चित्रकारले भने ।
उनी थप्छन्, ‘यो अन्तर्देशीय रेलमार्ग भएकाले सबै कुरा नेपाल एक्लैले गर्न सक्ने अवस्था पनि रहँदैन। भारतसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ जुन दुई देशको संयुक्त संयन्त्र बैठकमार्फत् भइरहेको छ ।’
उनका अनुसार संयन्त्रको पछिल्लो बैठकका क्रममा ‘स्टयान्डर्ड अपरेटीङ प्रसिडयोर’ तयार पार्ने काम भइरहेको छ ।
गत भदौ महिनामा नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारीहरूको माग गर्दै सूचना जारी गरेको थियो । करिब १ सय ३० पदका लागि कर्मचारी माग गरिएको थियो । तर करारमा ठूलो सङ्ख्यामा कर्मचारी ल्याउने विषयमा विवाद उत्पन्न भएपछि लोकसेवा आयोगले प्रक्रिया अगाडि बढाउने गरी प्रक्रिया मोडिएको छ ।
रेलमार्ग सञ्चालनका लागि नेपालमा दक्ष जनशक्ति उपलब्ध नभएकाले हालका लागि भारतबाटै ल्याउने गरी तयारी थालिएको चित्रकारले जानकारी दिए । ‘प्राविधिक अनि सुरक्षासँग सम्बन्धित विषयका लागि दक्ष जनशक्ति खोजी गरिएको हो,’ उनले भने ।
तत्कालका लागि सङ्घीय मामिला मन्त्रालय अन्तर्गतका केही कर्मचारी र सडक अनि रेल विभागका कर्मचारीका साथै केही पूर्वकर्मचारीहरूलाई समेटेर रेल सञ्चालनका लागि अन्तिम तयारी गरिरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले जानकारी दिए ।
उनले ‘पुस मसान्त भित्रमा रेल सञ्चालनमा आउने’ दाबी समेत गरे ।
तर, रेल सञ्चालनमा कर्मचारी बाहेक कानुनको अभाव पनि खड्किएको अधिकारीहरू बताउँछन् ।
संसद्मा कानुनको मस्यौदा पेस गरिएको भए पनि तत्कालका लागि बाटो खुला गर्न अध्यादेश ल्याउने गरी तयारी थालिएको उनीहरू बताउँछन् । गत पुसमा सरकारले रेलसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो ।
‘कानुन राष्ट्रिय सभाबाट छलफल भएर लगभग टुङ्गिएको अवस्था छ । यो बिस्तारै अब तल्लो सदनमा आउला । त्यो कानुन आउन समय लाग्ने भयो भने सुरक्षा र सम्पत्तिसँग सम्बन्धित विषय समेटेर अध्यादेशमार्फत् रेल सञ्चालन गर्ने तयारी भएको छ,’ भट्टराईले भने ।
‘यो लगभग तयार भइसकेको छ र प्रधानमन्त्रीसँग छलफल भई अगाडि बढाउन स्वीकृत भइसकेको छ । यसमा समस्या हुँदैन,’ उनले भने ।
इनरुवामा रेलको ट्र्याकमै पार्क गरेर राखिएको रेलको सुरक्षार्थ सशस्त्र प्रहरी खटाइएको बताइएको छ । सञ्चालनमा आउन नसकेको तयार राख्न लागि ‘अपकिपिङ’को काम गरिराखेको अधिकारीहरू बताउँछन् ।
‘रेल बेच्ने कम्पनीले नै हाम्रा कर्मचारीहरूको उपस्थितिमा रेल स्टार्ट गर्ने, अगाडी–पछाडि गराउने जस्ता कामहरू गरिरहेका छन् । त्यो निश्चित समयान्तरमा निरन्तर भइरहेको छ,’ उनले भने ।
रेलको सुरक्षामा प्रहरी परिचालन गरिएको भए पनि रेलको ट्«याकबाट ठूलो सङ्ख्यामा क्लीप चोरी भएको विवरणहरू सार्वजनिक भएका छन् ।
हालसम्म रेलवे ट्रयाक हस्तान्तरण नभइसकेको हुँदा चोरी भएका सामान भारतले राखिदिने र छिट्टै हस्तान्तरण सम्पन्न हुने भट्टराईले बताए ।







