मंसिर, २७ झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले झापा जिल्लामा निर्माणाधिन तीन वटा पूलको आज स्थलगत अनुगम गरेका छन् ।
रुग्ण अवस्थामा रहेका झापाका विरिङ खोला, माईखोला र झापा–मारेङको सिमानामा रहेको रतुवा पूलको अनुगमन गरेका हुन् ।
नेम्वाङले पुलहरुको निरीक्षण गर्दै स्थानिय सर्वसाधारणहरु, स्थानिय निकायका जनप्रतिनिधिहरुसँगसमेत देखिएका समस्याका विषयमा छलफल गरेका छन् । अनुगमनको क्रममा स्थानिय पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले लामो समयदेखि रुग्ण भएकाले समस्या समाधानका लागि अनुगमनका आएको भन्दै उक्त पुलहरुको काम अगाडी बढाउन कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।
तीन वटा पूलहरु मध्ये झापा–मोरङको सिमानामा रहेको रतुवा पुल निर्माण कार्य सकिएको पाइएको छ । तर, पूल निर्माण भएपछि नदिले धार परिवर्तन गरेपछि यहाँ समस्या देखिएको पाइएको छ । उक्त समस्याका विषयमा प्रतिनिधि सभा सदस्य घनस्याम खतिवडालगायत नगरपालिका प्रमुखहरुले समाधानको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
पूलको निरीक्षण गर्दै मन्त्री नेम्वाङले उक्त समस्या समाधानका लागि प्राविधिक पक्षहरु अध्ययन गरिने बताए । उनले यस्ता समस्या ग्रस्त आयोजनालाई त्यतिकै नछाडिने बताए । उनले मातहतका प्राविधिकहरुलाई समस्याको समाधानका लागि गर्न सकिने र के–के देखिएको छ भन्ने विषयमा अध्यययन गर्न मातहतलाई निर्देशनसमेत दिए ।
मन्त्री नेम्वाङले उक्त आयोजनाहरु रुग्ण भएकै कारण आफुले मन्त्रालय मातहत कार्यान्वयन गर्ने मन्त्रालयका सचिव, महानिर्देशकसहित अनुगमन गराएको बताए । उनले उक्त आयोजनाहरुको अनुगमन गर्दै आयोजनाका ठेकेदारहरु र मातहतका निकायलाई विकास निर्माणका कामलाई सुस्त गरेर नहुँने भन्दै कार्ययोजना बनाएर अगाडी बढ्न निर्देशनसमेत दिएका छन् ।
हुलाकी राजमार्ग पर्ने तीनवटै पुलको अनुगमनमा मन्त्री नेम्वाङसहित झापा जिल्ला क्षेत्रनम्बर ४ का सांसद एल पी सावाँ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागमा महानिर्देशक केशवकुमार शर्मा र हुलाकी राजमार्गका आयोजना प्रमुख राहित विसुराललगायत स्थानिय पालिका प्रमुखसमेत अनुमनमा सहभागि थिए ।







