लकडाउनले बन्द भोटेकोशीको द लास्ट रिसोर्ट पुनः सञ्चालनमा, दिनानुदिन बढ्दैछ बन्जी जम्प गर्नेको संख्या

मंसिर २७, काठमाडौं
सिन्धुपाल्चोक भोटेकोशीस्थित द लास्ट रिसोर्ट पुनः सञ्चालनमा आएको छ । गत चैत ११ को लकडाउनसँगै बन्द गरिएको रिसोर्टले नौ महिनापछि बन्जी जम्प पुनः सुरू गरेको छ ।

कोरोनाबाट त्रसित जनजीवन सामान्य हुन थालेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालनमा ल्याइएको हो । बन्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताएका छन् ।

२०५६ देखि सञ्चालनमा ल्याइएको १६० मिटरको उक्त बन्जी जम्प रोमाञ्चका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक सय जनासम्म आउने गरेका थिए । पुनः सञ्चालनमा ल्याइएकाले पर्यटकहरु बिस्तारै आउने अपेक्षा गरिएको व्यवस्थापक राउतको भनाइ छ ।

बन्जीका लागि युवायुवती बढी आकर्षित हुने गरेका छन् । प्रहरी अधिकृत तालिमका सहभागीलाई पनि अनिवार्यरूपमा गराइने भएकाले टोलीहरू भोटेकोशी पुग्ने गरेका छन् । बन्जीका लागि स्वदेशीलाई ६ हजार र विदेशीलाई ९ हजार २ सय लिने गरिएको छ । बन्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।