रक्सी किन्न पैसा नदिँदा फुपूको हत्या

मंसिर २९, बुटवल ।
रक्सी किन्न ५० रुपैयाँ माग्दा नदिएपछि कपिलवस्तुमा एक महिलाको हत्या भएको खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो ।

सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको खुलेको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान (ट्रयाकर) तालिमप्राप्त कुकुर झिकाइ आइतबार बिहान घटनास्थलमा डग स्नाईफिङ गराउँदा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

‘उनीहरु सँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन् । थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा सुशिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटना भएको ९ घण्टाभित्रै अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयौं ।’