मंसिर २९, काठमाडौं ।
उखु किसानले काठमाडौंमा थालेको आन्दोलनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ ।
जसपाले आइवार एक विज्ञप्ति जारी गरी ऐक्यवद्धता जनाएको हो । उखु किसानहरुले हरेक वर्ष पटक पटक विभिन्न समस्याहरु झेलीरहेको र यसपटक पनि उखुको मूल्य निर्धारण एवं सरल र सुलभ तरिकाले उखुको भुक्तानी पाउनु पर्ने लगायतका माग राखी उखु किसानद्धारा गरिएको धर्नाप्रति पार्टीको ऐक्यवद्धता रहेको जसपाले जनाएको छ ।
किसानहरुको सम्पूर्ण जायज माग अविलम्ब सम्बोधन गर्न जसपाले माग गरेको छ । साथै जसपाले विभिन्न दलसँग छलफल गर्नका लागि एक वार्ता समिति गठन गरेको छ ।
परिवर्तनको पक्षमा समान विचार र दृष्टिकोण रहेको देशका विभिन्न राजनीतिक पार्टी, दल, समूह संगठनहरुसँग वार्ता गरी एकता सामूहिक प्रवेश लगायतका कार्यका लागि जसपा नेपालले कार्यकारिणी समितिका सदस्य हेमराज राई, नवराज सुवेदी र केशव झालाई जिम्मेवारी दिएको छ ।







