पुस ,०१ पाल्पा ।पाल्पामा यसवर्ष सुन्तला पाक्न ढिलाई भएको छ । विगतका वर्षमा यतिबेला रैनादेवी छहरा गाउँपालिका–४, अमलावास बाहुनटोलाका किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो ।
तर, यसवर्ष सुन्तला पाक्न ढिलाई हुँदा यसका दुई दर्जन परिवारले अहिलेसम्म सुन्तला बिक्री गर्न पाएका छैनन् । ‘विगतमा यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो’ किसान विष्णु कोइरालाले भने , ‘यसवर्ष सबैको बारीभरी सुन्तला लटरम्मै छतरअझै पुरा पाकिसकेको छैन् ।वर्षात बढी भएका कारण चिसोले पाक्न ढिलाई भएको होला ।’
सुन्तला पाक्न अझै केही दिन लाग्ने उनले बताए । यता रिब्दिकोट गाउँपालिका–७, का किसान दानबहादुर कुवँरले पनि यसवर्ष सुन्तला पाक्न ढिलाई भएको बताए । ‘असोजमै पाक्ने सुन्तला मंसिर सकिन लाग्दा पनि राम्रो कलर आएन्’ उनले भने । पालुङ्मैनादीका किसानले भने सुन्तला बिक्री गर्न सुरु गरिसकेका छन् ।
विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्रीबाट आम्दानी पनि घट्ने किसानहरु बताउँछन् । यसवर्ष सुन्तलाका दाना सानो फलेको तथा कतै सुन्तला आफै झरेका कारण आम्दानी घटने किसानहरुको भनाई छ ।
रैनादेवी छहरा अमलावासका किसान विष्णु कोईरालाले यसवर्ष रोगका कारण सुन्तला बोटबाटै झरेको र सुन्तलाका दाना पनि साना रहेको बताए । उहाँको बारीमा २ सय बोट सुन्तला छन् । उनले गतवर्ष एक लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताए ,यसवर्ष सोही बराबरको आम्दानी नहुने बताउनुभयो । यसवर्ष एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा राखेको बताए ।







