निता ढुंगाना फेरि भोजपुरी चलचित्रमा देखिँदै

पुष २, काठमाडौं ।
भोजपुरी फिल्म ‘माही’मा अभिनेत्री नीता ढुंगानाले काम गर्ने निश्चित भएको छ ।

सुरुमा भोजपुरी जगतकी चर्चित अभिनेत्री काजल राघवानीसँग निर्माण युनिटले सम्झौता गरे पनि उनले विशेष कारण भन्दै फिल्म गर्न नसक्ने बताएकी थिइन् । त्यपछि उक्त स्थानमा नीता अनुबन्धित भएकी हुन् ।

नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले यो फिल्म निर्देशन गर्न लागेका हुन् । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनित फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि पन्त भोजपुरी स्टारको समेत रोजाइमा पर्न सफल भएका हुन् ।

उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिने गरेका छन् । नीताले यस अगाडि पनि भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।

कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन् । फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको नृत्य, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ । फिल्मको छायाँकन आगामी फेब्रअरीबाट सुरु हुने बताइएको छ ।