खैरहनीमा एक करोडको कृषि अनुदान

पुस ०२ खैरहनी । खैरहनी नगरपालिकाले यसवर्ष करिब एक करोड रूपैयाँबराबरको अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । साना सिंचाइ, कृषि औजार वितरण, बाली वस्तुको विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ९६ लाख रूपैयाँ खर्चिन लागेको नगरपालिकाले जनाएको छ ।
कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालका अनुसार खैरहनी नगरपालिका र संघीय सरकारको सशर्त कार्यक्रमअन्तर्गत सो बजेटबराबरको कार्यक्रम सञ्चालन हुन लागेको हो ।
नगर कृषि कार्यक्रमअन्तर्गत साना सिंचाइ कार्यक्रममा ८५ प्रतिशत अनुदान, नयाँ कृषि प्रविधि विस्तारका लागि सामग्री वितरण ७५ प्रतिशत अनुदान, नयाँ प्रविधिमा आधारित मेसिनरी औजार उपकरण वितरणमा ७५ प्रतिशत अनुदान, विद्युतीय (ब्याक्ट्री) स्प्रेयर वितरणमा ५० प्रतिशत अनुदान र कृषि सामग्री वितरण (सिड ट्रिटर आदि) मा ८० प्रतिशत अनुदान दिइने कृषि अधिकृत अर्यालले बताए ।
साना सिंचाइ कार्यक्रमका लागि यसवर्ष २० लाख रूपैयाँ, नयाँ कृषि प्रविधि विस्तारका लागि सामग्री वितरण कार्यक्रममा १५ लाख रूपैयाँ, नयाँ प्रविधिमा आधारित मेसिनरी औजार उपकरण वितरणका लागि ३० लाख रूपैयाँ, स्प्रेयर वितरणका लागि ५ लाख र सिड ट्रिटर आदि वितरणका लागि २ लाख रूपैयाँ विनियोजन गरिएको छ ।