२ असार, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।
पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।
त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उहाँकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयाँैको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।
त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ ।
हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित
पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।







