अमेरिकाले ताइवानमाथि विमान उडाउँदा चीन रुस्ट

२ असार, काठमाडौं । हालै ताइवानको आकाशमा नौसेनाको विमान उडाएर अमेरिकाले भयंकर गल्ती गरेको चीनले बताएको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै सो अमेरिकी कदमको विरोध गरेका हुन्।

गत जुन ९ का दिन अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडेको थियो।

सो उडानका लागि अमेरिकी विमानले चीनको अनुमति नलिएको कर्णेल रेनले बताएका छन्।

‘यो एकदमै गलत र खतरनाक छ,’ उनले भनेका छन्, ‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ।’

उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जुनसुकै प्रयास असफल हुने बताएका छन्। एजेन्सी