पुष, ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नचाहँदा नचाहँदै पनि संसद विघटनको निर्णय गर्न बाध्य बनाइएको बताएका छन् ।
उनले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको जिकीर सकेत गरेका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो ।’
पार्टी सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा अल्पमत र बहुमतको खेलमा लागेको उनको आरोप छ । तत्कालीन एमालेको ६० र माओवादीको ४० प्रतिशत हुँदा पनि आफूले नै सहमतिका आधारमा जाने प्रस्ताव गरेको स्मरण गर्दै उनले भने, ‘उहाँहरु अल्पमत बहुमतको खेलमा लागेर अविश्वासको प्रस्ताव दर्ता गर्ने खेलमा लाग्नुभयो ।’







