झलनाथ खनाल– नेकपा बरिष्ठ नेता
मैले आज पनि संसद भंग भयो भनिरहेको छैन् । यसलाई निन्दा गर्नुपर्दछ । र हामीले राष्ट्रव्यापीरुपमा यो कुरामा सचेत गरेर एकताबद्ध गरेर हामीले उठाउनुपर्ने जरुरत छ । पार्टीलाई सक्रिय बनाउनुपर्ने जरुरत छ । हाम्रो पार्टी नेकपा गौरवशाली पार्टी हो कमरेडहरु । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, एउटा सिंगो क्रान्तीलाई सम्पन्न गरेका छौं । जनवादी क्रान्तीलाई हामीले सम्पन्न गर्यौं । ५८ वर्ष लगाएर हामीले सम्पन्न गर्यौं । त्यो क्रान्तीको कालमा अनेकन प्रकारका मोडहरु आए । अनेकन प्रकारका घुम्तीहरु आए । विभिन्न प्रकारले उग्र बामपन्थका विरुद्ध लड्नुपर्यो, कहिले दक्षिणपन्थका विरुद्ध लड्नुपर्यो, पार्टीका विरुद्ध, आन्दोलनका विरुद्ध, लोकतान्त्रिक आन्दोलनका विरुद्ध, बिभिन्न ढंगल विश्वासघात गर्ने नेताहरुको विरुद्ध लड्नुपर्यो । त्यसरी अनेक घुम्तीहरु पार गरेर हामी अहिले यो ठाउँमा आइपुगेका छौं ।
अहिले पनि हामीले जब एकीकरणको काम सम्पन्न गर्यौं, एउटा ठूलो क्रान्ती जनवादी क्रान्तीलाई सम्पन्न गरेर समाजवादतर्फ अगाडि बढ्नुपर्ने आवश्यकताको ठाउँमा आइपुगेका थियौं । नयाँ संविधान निर्माण गर्यौं, नयाँ संविधानपछि हामीले आम निर्वाचन गर्यौं, आम निर्वाचनबाट हामीले जुन खालको जनादेश प्राप्त गरेका थियौं, त्यहि बीचमा हामीले दुइटा पार्टीलाई एकिकृत गरेर एउटा महान पार्टी नेकपा निर्माण गर्यौं । त्यहि नेकपा निर्माण गरेर समाजवादको बाटोमा जाने जुन प्रकारको अत्यन्त ठूलो ऐतिहासिक अविभारा हामीले निर्वाह गरेर जानुपर्ने थियो, यो पार्टीले अगाडि सारेका कुनै पनि नितिहरु केपी शर्मा ओलीको सरकारले गर्न सकेन । सुरुदेखिनै सकिरहेको थिएन, मन्त्रिपरिषद सदस्यतहरु तय गर्दा पनि पार्टीको भावना अनुरुप गर्न सकेन, योजनाहरु पनि पार्टीको भावना अनुरुप गर्न सकेन, निति र कार्यक्रम तीन तीनटा आए, ति पार्टीका निति र सिद्धान्त अनुरुप छैन् । ति उदारवादी पुजीको लागि मात्रै ल्याइएका कुराहरु छन् । त्यसो भएको हुनाले एउटा दक्षिणपन्थले भड्काउ गरेको एउटा गुटको रुपमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीभित्र गुट फर्मेसन भयो । त्यहि गुट फर्मेसनले निरन्तर पार्टीलाई दुख दिइरह्यो । हामीले उसलाई सच्याउनको लागि, सत्तारुढ पार्टी भएको हुनाले कैयन कुराहरु चित्त नबुझ्दाखेरि पनि हामी मुखमा ताला लगाएर बस्यौं । चुपचाप बस्यौं, आफ्नै सरकार हो, हामीले बैठकहरुबाट सच्याउने कोसिस गर्यौं, अनेकन ढंगले सुधारको कोसिस गर्यौं तर, भएन ।
पार्टीभित्र बिभिन्न बेलामा बहसहरु हुन्छ, छलफलहरु हुन्छ, नितिगत कुरामा अनेक खालका भिन्नताहरु आउँछन् । त्यो भिन्नताहरुको बारेमा बहस गर्न सक्नुपर्छ । छलफल गर्न सक्नुपर्छ । सही कुराहरुलाई निक्र्योल गर्न सक्नुपर्छ । तथ्यहरुको आधारमा, सत्यहरुको आधारमा विधिमा अगाडि बढ्न सक्नुपर्छ । त्यो मात्रै सही हुन सक्छ । तर, बैठकै नगर्ने, बैठक आयोजनै नगर्ने, बैठकमा उपस्थ्ति नहुने, बैठकमा छलफल नगर्ने, बैठकमा प्रस्तुत भएका चीजहरु आम रुपमा अस्विकार गर्छु भन्ने यस्ता कुराहरु गैरराजनीतिक कुराहरु, स्वार्थी कुराहरु अगाडि बढाउन थाल्नुभयो । त्यसले गर्दा संकटहरु आए, त्यो संकट निवारणका लागि जुन विधिको आधारमा हामीले जानुपर्ने थियो, अन्यथा गएर संविधानलाई कुल्चिने गरी, संविधानको मर्म र भावनालाई ध्वस्त पार्ने गरीकन, लोकतन्त्रका खम्बाहरु त्यसलाई समेत ध्वस्त पार्ने गरी केपी शर्मा ओलीले जुन प्रकारले यो कदम(संसद विघटन) असंवैधानिक छ, जनविरोधी कदम छ । त्यसकारण हामी विरुद्धमा उत्रनुपर्ने छ ।
यसलाई ध्यानमा राखेर हामीले बकैता संसदीय दलको बैठक राखेका छौं । यहाँ सबै साथीहरु उपस्थित हुन सक्नुभएको छैन् । कमरेडहरु देशका बिभिन्न ठाउँमा पुग्नुभएको छ । उहाँहरुलाई निम्ता गरिएको छ, आउँदै हुनुहुन्छ, कोही बाटोमा हुनुहुन्छ, कोही आफ्नो जिल्लाबाट आउन थाल्नुभएको छ त्यसकारण हामी फेरि संसदीय दलको बैठक गर्छौं, आजको बैठकले हामीले केही प्रारम्भिक कामहरु गर्नुपर्ने भएको छ । केही प्रस्तावहरु पारित गर्नुपर्ने छ ।
हामीले सोच्नुपर्दछ– अहिले हाम्रो देशमा जुन संविधान छ यो संविधान धेरै दुख कष्ट, त्याग, तपस्था गरेर निर्माण गरिएको संविधान हो । यो नेपाली जनताले हामीले निर्माण गरेको संविधान हो । त्यो संविधान बनाउँदा कमरेडहरु हामीले दुनियाभरका संसदीय व्यवस्था हेरेर हाम्रै देशको संसदीय अनुभव, संसदीय व्यवस्थाको जन्मभूमि ब्रिटिसको अनुभव यी सबैलाई ध्यानमा राखेर चार घण्टासम्म हामीले छलफल गरेका छौं संविधानको यो प्रावधान, खासगरी प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कतिपय देशमा छ, हाम्रो पनि ०४७ सालको संविधानमा थियो तर, यसमा राख्ने कि नराख्ने भनेर व्यापक छलफल गर्यौं । त्यो छलफल गरि यो प्रावधान कुनै हालतले राख्न हुँदैन, यहि प्रावधान राख्नाले विगत दश वर्षमा देश अस्थिरताबाट गुज्रिरह्यो, त्यो अस्थिरतातर्फ जान दिन हुँदैन, संसदभित्र त्यहि कारणले धारा ७६ राखेका छौं, जुन धारा ७६ ले चार चार पटकसम्म चार खण्डमा, चार कन्डिसनमा सरकार बन्न सक्दैन् भने मात्रै संसद आफैँ विघटन हुने अवस्थामा पुग्छ । त्यस खालको बेलामा प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपति मार्फत विघटन गर्नुपर्ने आवश्यकता हुन्छ । हाम्रो संविधानको मर्म र भावना त्यो हो । प्रावधान त्यो हो ।
तपाईंहरु आफैँ विधायिका हुनुहुन्छ । त्यसमा तपाईंहरु संविधानको बारेमा अझै अध्यन गर्नुहोस्, हाम्रो संविधानको बारेमा के हो भन्ने कुरा बुझ्नुहोस् र आम जनतालाई भन्नुहोस्– हाम्रो अत्यन्त ठूलो लायित्व छ । यो संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार हुन्न । अधिकार छैन्, यो अनाधिकृत कदम हो, यस्तो कदमको विरोध गर्नुपर्छ । यो विरोध गर्ने शिलशिला राजनीतिक रुपले पनि हामी अगाडि बढ्नुपर्ने हुन्छ । संवैधानिक रुपले पनि सर्वोच्च अदालतसम्म जानुपर्ने हुन्छ । हामी सर्वोच्चसम्म पनि जान्छौं, हामी एउटा व्यवस्थापकिय आधार तयार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता भएको हुनाले हामी त्यो आधार तयार पार्नको लागि पनि भेला भएका छौं ।
कमरेडहरुलाई अन्त्यमा भन्न चाहन्छु – आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा पनि आम जनतालाई पनि आव्हान गर्नुहोस्, त्यहाँको कार्यक्रतालाई पनि आव्हान गर्नुहोस्, सक्रिय भएर अगाडि बढ्नुहोस्, यो कदमको विरोध गर्नको लागि सबैलाई आव्हान गर्नुहोस्, हामी सबैले आव्हान गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टी, हाम्रो सचिवालयमा पनि हामी बहुमतमै छौं । केही मान्छेहरु मात्रै बरालिएको अवस्था छ । हामी स्थायी कमिटीमा पनि दुई तिहाई बहुमतमा छौं । हिजो मात्रै स्थायी कमिटीको बैठक बसेर निर्णय गरेका छौं– अहिलेको जसलाई संसद विघटन गर्ने दुस्साहस् गरिएको छ, यो कथित विघटन हो । यो कथित विघटनको भ्रत्सना गरेका छौं । विरोध गरेका छौं । केन्द्रीय किमटीको बैठक भोलि बस्दैछ । त्यसले पनि आवश्यक निर्णयहरु गर्छ । र हामी देशव्यापी रुपमा आव्हान गरेर राष्ट्रव्यापी रुपमा पार्टीलाई पनि परिचालन गर्छौं, जनतालाई पनि हामीले परिचालन गर्नुपर्छ र संवैधनिक क्षेत्रका ढोकाहरुलाई पनि हामीले ढकढकाएर जानुपर्छ ।
हामी सर्वदलीय बैठक पनि गर्दैछौं । यो ढङ्गले तपाईंहरु पनि आआफ्नो ठाउँमा अगाडि बढ्नुहोस् ।
अहिले हाम्रो देशमा आएको मोड– यो कम्युनिस्ट आन्दोलनमा आएको एउटा दुखद मोड हो । र लोकतान्त्रिक आन्दोलनमा पनि आएको एउटा दुखद मोड हो । हामीले यसको सामना गर्नुपर्ने आवश्यकता पर्यो । यसलाई दृढतापूर्वक सामना गर्नको लागि हामीहरु एकजुट भएर अगाडि बढौं ।
(सोमबार संसद भवन नयाँबानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई खनालले गरेको सम्बोधन)







