युरोपमा फैलियो नयाँ स्वरुपको कोरोना भाइरस

पुस, १२ काठमाडौ ।युरोपका थुप्रै देशमा नयाँ स्वरुपको  कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । बेलायतमा पहिलो पटक देखा परेको कोरोना भाइरसको नयाँ प्रकार युरोपभर फैलिन थालेको जनाइएको हो । 

बेलायत, फ्रान्सपछि कोरोना भाइरसको नयाँ स्वरुप स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डमा पनि देखिएको हो । यो भाइरस अझ बढी संक्रामक र चाँडो फैलने खालको भएको बताइएको छ । स्पेनको राजधानी म्याड्रिडमा बेलायतका फर्किएका एक व्यक्तिका तीन आफन्तमा कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको थियो। म्याड्रिडका उपस्वास्थ्य प्रमुख एन्टोनियो जापातेरोले यो जानकारी दिएका हुन्। यद्यपि सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

यस्तै, स्वीट्जरल्याण्डले पनि आफ्नो मुलुकमा रहेका २ बेलायती नागरिकसहित ३ जनामा उक्त भाइरस फेलापरेको जनाएको छ। उनीहरुमध्ये बेलायती नागरिकहरु क्रिसमसको बिदा मनाउन स्वीट्जरल्याण्ड पुगेका थिए। यसबाहेक डेनमार्क, जर्मनी, इटाली, नेदरल्याण्ड र अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परिसकेको जनाइएको छ। जापानमा पनि बेलायतबाट फर्किएका ५ जनामा यो भाइरस फेला परेको पुष्टि भएको छ।

बेलायतमा पहिलो पटक देखा परेपछि विश्वका कैयौं मुलुकहरुले आफ्ना नागरिकलाई बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन । यसअघि शनिबार बिहान फ्रान्सले पनि आफ्नो देशमा बेलायतको यात्राबाट फर्किएका एक व्यक्ति नयाँ स्ट्रेनद्वारा संक्रमित भएको खबर दिएको थियो ।

संक्रमित व्यक्तिमा कुनै लक्षण देखिएको छैन र हाल उनले आफूलाई घरमा नै आइसोलेट गरेर राखेका छन् । भाइरसको नयाँ भेरियन्टको पुष्टिपछि फ्रान्सले बेलायतसँगको आफ्नो सीमा बन्द गरेको थियो । यद्यपि, बुधबार यसले युरोपेली संघका नागरिकका लागि सीमा खोलिदिएको थियो । शर्त स्वरुप उनीहरुले आफ्नो कोरोना नेगेटिभ रिपोर्ट पेश भने गर्नु पर्नेछ ।