आईओएम डिन नियुक्ति प्रकरण : नियम विपरित सर्च कमिटी गठन भएको खुलासा

पशु विज्ञान अध्ययन संस्थानमा पनि त्यस्तै

४ असार, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाह नियुक्त हुँदा बनाइएको सर्च कमिटी नै नियम विपरित गठन भएको खुलेको छ । राज्यमन्त्रीसरहको सुविधा लिने शाह प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन् । प्राध्यापकहरूको वरिष्ठता क्रम अनुसार ५५ वर्षीया उनी ३३ औं नम्बरमा पर्छिन् ।

त्रिवि ऐन २०४९ मा ब्यवस्था गरिए अनुरुप विश्वविद्यालयको अध्ययन, अध्यापन र अनुसन्धान कार्यमा संलग्न भएका शिक्षक (त्रिविको उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक) सर्च कमिटीमा रहने ब्यवस्था छ । त्यस्तै त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियममा कार्यकारी परिषदबाट गठन गरिएको सर्च कमिटीको संयोजक र अन्य दुई सदस्यहरु प्राध्यापक वा सहप्रध्यापक हुनु पर्ने ब्यवस्था छ।

जेठ २१ गते गठन गरेको डिन सर्च कमिटी त्रिभुवन विश्वविद्यालय (त्रिवि) ऐन नियम विपरित रहेको खुलेको छ। चिकित्सा शास्त्रको डिन सर्च कमिटीमा त्रिवि सेवाबाट अन्यत्र निकायमा कार्यकारी पदमा नियुक्ति पाएका डा प्रेम ज्ञवाली संयोजक थिए भने सदस्यहरुमा डा. जीवन शेरचन र डा. सुभाषराज आचार्य थिए ।

संयोजक ज्ञवाली काजमा भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपणमा कार्यकारी निर्देशक हुन् भने डा. शेरचन हाल त्रिवि सेवामा छैनन्।

पशु विज्ञान अध्ययन संस्थानमा पनि त्यस्तै

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको जेठ २१ गते गठन गरेको डिन सर्च कमिटीका संयोजकमा अनुप श्रेष्ठ रहेका छन्। श्रेष्ठ त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकास भइसकेका ब्यक्ती हुन्। अर्का सदस्य सरोज मिश्र भने सहायक डिन छन्।

डा केशब अधिकारी ४ महिना पहिले फागुन १२ मा सेवा निर्बित भएपछी कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा डिन पद रिक्त भएको हो । हाल कामु डिनको जिम्मा उपप्राध्यापक सरोज मिश्रलाई दिइएको छ ।