४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारत सरकारलाई कालापानीबाट भारतीय क्याम्पहरु हट्नुपर्छ भन्ने नेपालको दृढ अडान भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता श्रेष्ठले भने, ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । र त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ । र त्यस प्रकारको क्याम्पहरु त्यहाबाट बन्द गरिनुपर्छ, यो हाम्रो दृढ अडान हो ।’
भारत वार्तामा बस्न तयार हुनुपर्छ
नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रको विषयलाई समाधान गर्ने उपाय वार्ता र संवाद भएको उल्लेख गर्दै भारत वार्तामा बस्न तयार हुनुपर्नेमा जोड दिएका छन् ।
‘हामी बारम्बर भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठ भन्छन्, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’
छिटो भन्दा छिटो वार्तामा बस्न र नेपाल र भारतको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारत सरकारलाई आग्रह समेत गरेका छन् ।
१८१६ को सुगौली सन्धि काली नदिको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा सीमा काली नदी देखाइएको र नेपालको कुनैपनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरको उल्लेख गर्दै उनले यि आधार नै लिम्पियाधुरा भएको प्रष्ट प्रमाण भएको बताए ।
‘नोभेम्बर १९१९ मा प्रकासन गरेको नक्सामा काली नदी देखाइएको छ । त्यो काली नदि लिम्पियाधुराबाट बग्ने नदी हो । त्यसको सात दिनपछि काली काट्नुभयो किन ? यसले प्रष्ट गर्छ जतिसुकै यताउती गरेपनि सुगौली सन्धि अनुसार लिम्पियाधुरा नेपालको हो’ नेता श्रेष्ठले भनेका छन् ।
मुल मुद्धालाई ओझेलमा नर्पान आग्रह
यसैगरी, सत्तारुढ नेकपाका प्रवक्ता समेत रहेका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्धालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरे ।
खासगरी राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन आफुहरुको संविधान संशोधनको माग पुरा हुनुपर्ने जस्ता विषय उठाइरहेको सन्दर्भमा श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
राजपा र समाजवादीका नेताहरुले विगतमा शासकहरुले नेपालको भूमि बेचेको आरोप लगाइरहेका बेला नेता श्रेष्ठले भने, ‘यतिखेर हेर्नुपर्ने मुख्य मुद्धा भनेको यो भूमि भारतले कब्जा गरेको हो, यो भूमि फिर्ता लिइ छाड्नुपर्छ भन्ने हो । यो मुद्धामा हिजो कहाँ कसको कमजोरी भयो भन्ने बारेमा वा राष्ट्रियताको अरु विषयमा पनि सन्दर्भबस चर्चा गर्नु एउटा कुरा हो । तर, यसैलाई मुद्धा बनाएर, आफैँलाई आरोप प्रत्यारोप गर्नेमा लाग्नु हुँदैन ।’
तथापि, अहिले राष्ट्रिय सार्वभौमिकता र अखण्डाको विषयमा देश एक ढिक्का हुँदा सबैलाई उत्साहित बनाएको उनले बताए ।







