पुष, २५ काठमाडौं । सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।
पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आउनुभएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको बताउछिन् । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भनिन्।
जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगैँचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताउनुभयो । “बगैँचामा सुन्तलाका दुई हजारभन्दा बढी बोट छन् अहिले ग्रिनिङका कारण १५० भन्दा बढी बोट सुकेका छन् । यो रोग छिटो फैलिने हुँदा पनि उत्पादिन लिने बेला चिन्तित बनाउन थाल्यो”, उहाँले भन्नुभयो । गत वर्ष रु २७ लाख बढीका सुन्तला बिक्री गरेकामा यो वर्ष रु सात लाख ननाघ्ने अवस्था रहेको उनको भनाइ छ ।
सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए । “जलवायु परिवर्तनको कारणले पनि होला सुन्तलाका बोट सुक्न थालेका छन् भने फल पनि राम्ररी लागेको छैन । बोटको तलतिर सुक्दै जान थालेपछि सुन्तला उत्पादन घटन थालेको छ”, डाँगीले भने । जिल्लाका सुन्तला पकेट क्षेत्रको रुपमा रहेका धेरै स्थानमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । “सुन्तलामा यो रोग देखा परेपछि गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ”, बस्नेतले भने । यो रोगको उपचार नहुने भएकाले पनि ठूलो समस्याको रुपमा रहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनका कारण अहिले सुन्तला तल्लो क्षेत्रतिर विस्तारै यो रोगको कारण सुक्दै गएको र अलि चिसो क्षेत्रतिर भने सुन्तला राम्रो हुँदै गएको छ”, बस्नेतले भने ।
यो रोगका काराण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।
“असोज महिनामा बढी पानी परेका कारण सुन्तलामा रस बढी भएको कारणले पाक्न ढिला भएको र बजारमा भारतीय सुन्तला आइसकेको हुनाले यो वर्ष सुन्तलाले त्यति मूल्य पाउन नसक्ने अवस्था छ”, सूचना अधिकारी बस्नेतले भन्नुभयो । गत वर्ष औसतमा रु ५१ प्रतिकेजी मूल्य रहेकामा यो वर्ष रु ४० प्रतिकेजीसम्म आउने उनको भनाइ छ ।
सल्यानका बागचौर नगरपालिकाको ८ र ९ छत्रेश्वरी गाउँपालिकाको १ र २ र त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा करीब ७५० कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । लटरम्म पाकेर पहँेलै भएका सुन्तलाका बगैँचा अब यो रोगको नियन्त्रणको उपाय अपनाउन नसकिए केही समयमै उजाड बाँझो बस्तीमा परिणत हुने निश्चित छ ।







