एग्बोसा काठमाडौंले त्रिवि शिक्षण अस्पताललाई उपलब्ध गराए स्वास्थ्य सामाग्री

७ असार, काठमाडौं । पोखरा स्थित गण्डकी बोर्डिङ स्कूलको भुतपूर्व विद्यार्थीहरुको संगठन पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसन (एग्बोसा, काठमाडौं) ले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

एग्बोसाले त्रिवि शिक्षण अस्पताललाई सर्जिकल माक्स पाँच हजार थान, एन ९५ माक्स ६ सय, फेस सिल्ड दुई सय, ६० लिटर स्यानिटाइजर र चार वटा स्यानिटाइजर डिस्पेन्सर सहयोग गरेको हो ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने हेतुले एग्बोसा, काठमाडौंले सहयोग जुटाएर उक्त स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

एग्बोसाकी अध्यक्ष डा. सुजिता हिराचनले त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेललाई आइतबार एक कार्यक्रमबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

सहयोग हस्तान्तरणका क्रममा एग्बोसामा आवद्ध प्रो. पलेस्वाँ जोशी लाखे, प्रो. रमेशसिंह भण्डारी, डा.प्रमेशसुन्दर श्रेष्ठ, कृष्ण गुरुङ र राजु मृगेन्द्र जोशीको पनि उपस्थिति थियो । यसअघि वीर अस्पताल  र राष्ट्रिय ट्रमा सेन्टरलाई पनि सर्जिकल माक्स, एन ९५ माक्स, फेस सिल्ड, स्यानिटाइजर सहयोग गरिएको थियो ।

यसपछि उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनि उस्तै खालको सहयोग प्रदान गर्ने संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले बताइन् ।