‘केपी ओली कायर हुन्, घर जलाएर खरानीको व्यापार गर्दैछन्’

पुस,२९ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी –दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य हिमाल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायरको संज्ञा दिएका छन्। राजधानीको प्रज्ञा भवनमा भइरहेको दाहाल(नेपाल समूहको बृहत् कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

बहुमतको सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाउँदै शर्माले त्यसयता ओली लगातार भागिरहेको बताए। ’केपी ओली कायर हुन्, अहिले निरन्तर भागिरहेका छन्। पार्टीका बैठक छलेर उनी भागिरहेका छन्’, शर्माले भने, ’उहाँ (ओली) भगौडालाई खबरदारी गर्न पनि हामी यहाँ उपस्थित भएका छौं।’

परिवारमा झगडा हुँदैमा घरमा आगो लगाउन नहुने उनले मत राखे। ’परिवारमा झगडा भयो भन्दैमा केपी ओलीले घरमा आगो लगाएका छन्। कति दिन खरानीको व्यापार गर्नुहुन्छ? हामी हेरिरहेका छौं’, उनले थपे, ’अब केपी ओलीको चटके उखान टुक्काले देश चल्दैन, चल्नै सक्दैन।’

शर्माले प्रधानमन्त्री ओली दलाल पुँजीवादको घोडा चढेर हिँडिरहेको बताए। ’केपी ओली दलाल पुँजीवादको घोडा चढ्नु भएको छ’, उनले भने, ’उहाँ अहिले साम्राज्यवादको जुठोपुरो खाइरहनु भएको छ।’

भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त गोयललाई गत कात्तिक ५ गते बालुवाटारमा भेटेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको उनले आरोप लगाए। ’कात्तिक ५ गते भारतीय गुप्तचर प्रमुखको जुठोपुरो खाएर प्रतिनिधिसभा विघटन गरिएको छ’, उनले भने, ’तर हामी उहाँलाई गल्ती महसुस गराएरै छाड्छौं। प्रतिनिधिसभा पनि पुनःस्थापन भइ छाड्ने छ।’

शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली मिलेका बेला प्रतिगमन गरिएको गुनासो गरे। ’प्रधानमन्त्री र राष्ट्रपति मिलेका बेला मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्थ्यो’, उनले अगाडि भने, ’तर संसद विघटन गरेर उहाँलले प्रतिगम गर्नुभयो।