३० असार, काठमाडौं । सरकारले यसवर्षको मनसुनबाट ३० लाख परिवार प्रभावित हुने आंकलन गरेको छ ।
सोमबार राज्य व्यवस्था समितिमा विपत्त व्यवस्थापनबारे सरकारी तयारीका सन्दर्भमा प्रस्तुतीकरण गर्दै राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक अनिल पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
पोखरेलका अनुसार देशभरका ११ हजार घर पहिरोको उच्च जोखिममा छन् । ७०४ परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने छ ।
बिभिन्न जिल्लालाई जोखीमको क्षेत्रका रुपमा पहिचान गरेर सर्तकताको उपायहरु समेत अपनाइएको उनको भनाई छ ।
पोखरेलका अनुसार ७७ जिल्लामधे सबैभन्दा बढी जोखिममा सिन्धुपाल्चोक छ भने दोस्रोमा दोलखा जिल्ला रहेको छ ।
तराईका ८ वटै जिल्ला जोखिममा छन् । त्यसको प्रष्ट्याउँदै उनले भने, ‘सीमामा भारतले निर्माण गरेको तटबन्धका कारण प्रदेश २ का सबै जिल्ला बाढीको उच्च जोखिममा छन् ।’ प्रदेश २ का रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा रहेको उनले बताए ।
कार्यकारी निर्देशक पोखरेलका अनुसार साउनमा वर्षा उत्कर्षमा पुग्ने सरकारको आंकलन छ । तर, प्रिमनसुनमा धेरै पानी परेका कारण सुरुमै क्षेति धेरै बेहोर्नुपरेको परेको हो ।
बाढी र पहिरोबाट क्षेति बढी हुनुको कारणमा उनले भने, ‘सानो घर बनाउँदा नक्सा पास गर्नुपर्छ तर ठूला सडक निर्माण गर्दा नक्सा पास गर्नु पर्दैन । बाढी र पहिरोको जोखिम प्रकृतिक कारणले भनदा बढी मानव निर्मित कृत्रिम कारणले बढी छ ।’
बैठकमा सहभागि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एक महिनामा बाढी र पहिरोबाट ८५ जनाको मृत्यु भएको र ४६ जना बेपत्ता रहेको जानकारी राजय व्यवस्था समितिलाई गराए ।
सचिव न्यौपानेले ठूलो पहिरो जानुको कारणमा भूकम्पले ठाउँठाउँमा चिरा पार्नु, विकासको नाममा डोजर प्रयोग हुनु रहेको उल्लेख गरे ।
जोखीम कम गर्न र खोज तथा उद्धारका लागि बिभिन्न जिल्लामा आवश्यक सर्तकता सहितको व्यवस्था गरिएको उनले जानकारी दिए ।
‘सडक खोल्ने हेपी इक्युपमेन्टहरु विभिन्न राजमार्गमा राखिएको छ । तराईका डुबान हुने ठाउँ, विभिन्न जिल्लाहरुमा १९१ वटा मोटर बोट राखिएको छ ।’ सुरक्षाकर्मी, नेपाली सेनाका हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएको छ’ सचिव न्यौपानेले भने ।







