संविधान संशोधनबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

बजेटमा एमसीसी परेपछि विवाद


१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ ।

एक सचिवालय सदस्यका अनुसार भोलि बिहान साँढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा दर्ता भएको संविधान संशोधन विधेयक, सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट र देशको पछिल्लो अवस्थाबारे छलफल हुनेछ ।

संविधान संशोधनका विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शुक्रबार गैरसरकारी विधेयक दर्ता गर्न खोजेको थियो ।

राजपाले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला असफल भएको संशोधन विधेयकलाई नै दर्ता गर्न खोजेको थियो । तर संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गरेनन् । कतिपयले प्रधानमन्त्रीले भनेपछि उक्त प्रस्ताव दर्ता नभएको आरोप लगाएका छन् ।

राजपा संसदीय दलका नेता ठाकुरले पत्रकारहरुसँग भने, ‘फर्म्याट पनि मिलाइयो, सही पनि भयो । तर कहाँबाट के आदेश आयो, त्यसअनुसार (दर्ता) गर्नु भएन ।’ यसअघि सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

त्यस्तै बजेटमा एमसीसी अगाडि बढाउने गरी आएको हुनाले यसबारे भोलिको बैठकमा थप छलफल हुनेछ ।