मन्त्रीपरिषद्को निर्णयः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

माघ, २७ काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेका मन्त्रीपरिषद्को बैठकले हाल प्राधिकरणको निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए ।