माघ,२७ काठमाडौ।चीनले २०१९ डिसेम्बर ३१ मा हुबेई प्रान्तको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस संक्रमण भएको सूचना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दियो । उक्त संक्रमणबारे चीनले विश्वलाई ढिलो जानकारी दिएको आरोप पश्चिमा मुलुकहरूले लगाइरहेका छन् । नेपालमा भने चीनबाट जनवरी ९ मा फर्किएका विद्यार्थीमा पहिलो पटक संक्रमण देखियो ।
जनवरी १३ मा अस्पताल भर्ना भएका उनमा ११ दिनपछि संक्रमण पुष्टि भएको थियो ।नेपालमा कोभिड–१९ भित्रिएको झन्डै एक वर्षपछि गत जनवरी २१ मा कोरोना भाइरसविरुद्धको भ्याक्सिन १० लाख डोज भित्रियो । यो खोप भारत सरकारले अनुदानमा दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षमा नेपालमा २ लाख ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ ।
तीमध्ये २ लाख ६८ हजारभन्दा बढी निको भएका छन् भने २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपाल सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको थियो ।लकडाउनसँगै सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि चाहिने मास्क, सेनिटाइजर, पीपीई (व्यक्तिगत सुरक्षा सामग्री), चस्मा, ग्लोब्स, भेन्टिलेटरलगायतका सामग्री खरिद प्रक्रिया अघि बढायो तर अनियमितताको प्रश्न उठ्यो ।
यसले स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भयो । त्यति बेला दुई छिमेकी भारत र चीनसहित अमेरिकालगायतले स्वास्थ्य सामग्री सहयोग गरे । स्वास्थ्य मन्त्रालयका अनुसार डब्लूएचओ, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी), युरोपेली युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत तीन दर्जनभन्दा बढी संस्थाले पनि कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाललाई सहयोग गरेका छन् ।







