माघ,२७ काठमाडौं । निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
मंगलबार बिहान साढे ११ बजेतिर आयोग पुगेका प्रधानमन्त्रीले वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारीबारे जानकारी लिएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका हुन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाइरहेको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख १७ गते मुलुकका ४० जिल्ला र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।







