माघ, २९ पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गरे । उनले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पु¥याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउने बताए ।
उनले भने, “विगतमा पहाडमा कालोपत्र हेर्न हामी नै सिक्किम जान्थ्यौँ, तर अहिले सिक्किमबाट नेपाली सीमासम्म ट्र्याक आइपुग्दा हामीले दुई लेनको सडक पु¥याएका छौँ । चाँडै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउँछौँ ।”
मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको ५१ किलोमिटरको थर्पु–चिवाभञ्ज्याङ खण्ड कालोपत्रको शिलान्यास गरे। बाँकी खण्डको यसअघि नै कालोपत्र भइसकेको भए पनि उद्गम खण्डको कालोपत्र हुन सकेको थिएन ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मध्यपहाडी पुष्पलाल लोकमार्गको कालोपत्र गर्ने कार्यलाई सबैको सहयोग रहनुपर्ने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङले यस याङवरकवासीको भाग्य र भविष्यका रुपमा रहेको यो सडकले पालिकाको समृद्धिका निम्ति आधार तय गरेको बताए । कालोपत्रअघि बढाउन पालिकाले गर्नुपर्ने सहयोगको निम्ति पालिका लागिपर्ने उनको भनाइ थियो ।
यो सडकको कालोपत्रसँगै यस पालिकामा उत्पादन भएको कृषिजन्य वस्तु भारत निर्यात गर्न तथा यस क्षेत्रको पर्या–पर्यटन प्रर्वद्धन हुने बताए । यस्तै उनले यस पालिकाको वडा नं १ मा रहेको छोटी भन्सार कार्यालय बन्द रहेको र यस कार्यालयको पुनःस्थापना गर्नुपर्ने बताए ।
यस्तै उनले सीमा प्रशासन कार्यालय च्याङथापुमा कार्यालय प्रमुखलगायतका अन्य कर्मचारी नियमित बसेर काम गर्ने वातावरण बनाइदिनुपर्ने माग गरे ।
आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्र हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइसकेको छ । तीन प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ ।
पहिलो खण्ड १६ किमी ठेक्का रोशन–शिव शक्ति जेभी मकवानपुरले रु ५३ करोड १७ लाख ९५ हजारमा लिएको छ । दोस्रो खण्ड १७ किमी ठेक्का सन्तोषी–शिव शक्ति जेभी मकवानपुरले रु ४६ करोड ४६ लाखमा तथा तेस्रो खण्ड १८ किमी ठेक्का रोशन–शिव शक्ति जेभी मकवानपुरले नै रु ४७ करोड ३७ लाख १७ हजारमा लिएको छ । दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्र निर्माण शुरुआत भएको हो । पाँचथरमा मध्यपहाडी लोकमार्ग १११ किमी छ ।







