थप उपलब्धिका लागि प्रयासरत रहनुपर्नेः अध्यक्ष दाहाल

माघ, ३० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताएका छन् ।

आदिवासी जनजाति मगर सङ्घको राष्ट्रिय भेलालाई बिहीबार यहाँ सम्बोधन गर्दै उनले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको बताए । उनले त्यसलाई जित्ने र हार्नेका बीचको सम्झौताका रुपमा बुझिदिन आग्रह गरे ।

नेपालको संविधानले विगतमा भन्दा तुलनात्मकरुपमा स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाउनका लागि अग्रसर हुन उनले आग्रह गरे । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती र नेता शेरबहादुर तामाङलगायतले भेलाको सफलताको कामना गरे ।