पाठ्यभार घटाएर भए पनि शैक्षिक सत्र खेर जान दिँदैनौँ : शिक्षामन्त्री पोखरेल

१७ भदौ, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको शैक्षिक सत्र खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँग बुधबार भर्चुअल अन्तर्क्रिया गर्दै मन्त्री पोखरेलले सरकारले कुनै पनि हालतमा शैक्षिक सत्र खेर जान नदिने बताएका हुन्।

उनले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका कार्यान्वयन गरेर शैक्षिक सत्रलाई उपलब्धीमूलक बनाइने प्रतिवद्धता व्यक्त गरे।

विद्यार्थी आन्दोलनको मुख्य माग पनि वैकल्पिक र प्राविधिक शिक्षा भएको चर्चा गर्दै उनले भने, ‘अहिले सरकारले शिक्षालाई प्रविधिसँग जोड्ने कामलाई प्राथमिकता दिएको छ। विद्यार्थी संगठनहरुले पनि यो अभियानलाई सहयोग गर्नुपर्छ।’

यो शैक्षिक सत्रलाई खेर जान नदिनेगरी आफू काममा लागेको भन्दै उनले पाठ्यक्रम विकास केन्द्र र विश्वविद्यालययलाई पाठ्याभार घटाउन निर्देशन गरिएको जानकारी दिए। ‘शैक्षिक सत्र खेर जाँदैन, वैकल्पिक सिकाई निर्देशिकालाई मूल बाटो बनाएर अगाडि बढ्छौँ,’ मन्त्री पोखरेलले भने।

वैकल्पिक सिकाइलाई अगाडि बढाउनका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच बनाएकोसमेत उनले जानकारी दिए।

‘वैकल्पिक शिक्षालाई व्यवस्थित बनाउनका लागि मैले प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्न प्रस्ताव लगेको छु’, मन्त्री पोखरेलले भने, ‘त्यो विषयमा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’

मनत्री पोखरेलले त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाउन लागिएको जानकारी दिए।

भर्चुअल बैठकमा सहभागी विद्यार्थी नेता विजय गौतमले आफूहरुले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न, विश्वविद्यालयहरुका भीसी तथा अन्य पदाधिकारीको नियुक्ति तत्काल गर्न, शैक्षिक सत्र खेर जान नदिन सुझाब दिएको बताए।

भर्चुअल अन्तरक्रिया अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जीत तामाङ, विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, विजय गौतम, रश्मी आचार्य, तिलकराज भण्डारी, दीपक देवकोटा, पञ्चा सिंह लगायत सहभागी थिए।