देशभित्र बढेका रुसी र चिनियाँ जासुसका कारण जर्मनी हैरान

बर्लिन । रुसी र चिनियाँ जासुसबाट जर्मनी हैरान भएको छ । यो महिना (अप्रिल)को सुरुदेखि हालसम्म जासुसीको आरोपमा त्यहाँ ६ व्यक्ति पक्राउ परिसकेका छन् । दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी भन्ने पार्टी नै त्यस कार्यमा संलग्न हुनुले जर्मनीलाई झस्काएको छ ।

आउँदो जुनमा हुन लागेको युरोपेली निर्वाचनमा सो पार्टीका तर्फबाट दुई उमेदवार रहेका व्यक्ति नै जासुसीमा संलग्न भएको पाइएको छ । पार्टीका नेता म्याक्सिमिलियन क्राहका सहयोगी नै चिनियाँ जासुसका रूपमा पक्राउ परेका छन् । सहयोगी जियान जी चिनियाँ सेक्रेट सर्भिसका कर्मचारी नै रहेको बताइएको छ ।

अभियोजकले राजनीतिज्ञमाथि प्रारम्भिक छानबिन गरिरहेका छन् । उनीहरूमाथि विशेष गरी चीन र रुसका स्रोतबाट भइरहेको ‘पेमेन्ट’का बारेमा छानबिन भइरहेको जनाइएको छ । यस्तो कार्यमा सुरुका दिनमा अल्टरनेटिभ पार्टीका दोस्रो वरीयताका नेता पेट्र बाइस्ट्रनको नाम सार्वजनिक गरिएको थियो । रुसी ‘इन्टेलिजेन्स’बाट पैसा लिने गरेको उनीमाथि आरोप थियो ।

रुसी ‘ओरिजिन’का दुई जर्मन नागरिक पनि जर्मनीका तर्फबाट युक्रेनलाई दिइने सहायता अवरुद्ध गर्न लागेको आरोपमा पक्राउ परेका थिए । यस्तै, केही दिनअघि मात्र तीन जर्मन नागरिक चीनको गुप्तचरलाई अत्याधुनिक इन्जिन डिजाइन प्रविधि पास गर्न लागेको अभियोगमा पक्राउ परेका थिए । चीन र रुसका गुप्तचर निकाय एकैपटक जर्मनीमा चलखेलमा लागेका यी तीन नेटवर्कमा संलग्न व्यक्ति पक्राउ पर्नुले देखाएको अनुसन्धाताको भनाइ छ ।

तीनै घटनाले जर्मनीको घरेलु इन्टेलिजेन्स एजेन्सी (बीएफभी)को अवस्था अप्ठ्यारोमा देखिएको छ । पक्राउका घटना चान्सलर ओलाफ स्कूल्जले चीनका राष्ट्रपति सी चिनफिङलाई भेटेर फर्किएपछि भइरहेका छन् ।

रुसी सुरक्षा सर्भिसेजका विज्ञ एन्डेइ सोल्दातोभ जर्मनीमा रुसी गतिविधि युक्रेनको सहायतालाई निस्तेज गर्ने प्रयास हुन सक्ने बताउँछन् । यो नयाँखाले गतिविधि भएको उनको टिप्पणी छ । जर्मनीमा ‘मिलिटरी फेसिलिटी’लाई ‘स्याबोटेज’ गर्न यी मानिसले सूचना संकलन गरिरहेका उनको तर्क छ ।

जर्मनीका पूर्वआर्मी अफिसर समेत रहेका विपक्षी सांसद रोडेरिच किसेवेटर भन्छन्, “चीनले जर्मनीको अत्याधुनिक अनुसन्धानमा पहुँच पाउन खोजेको छ, जसबाट मिलिटरी र अन्य उद्देश्यका लागि ऊ त्यसको प्रयोग गर्न चाहन्छ ।” उनले जर्मनीको खुलापनलाई शोषण गरेर चीनले प्रविधिको ज्ञान लिन खोजेको जनाए ।

विज्ञ एन्ड्रेइ सोल्दाटतोभ अरू देशले गुप्तचरलाई पक्राउ नगर्ने बरु उनीहरूको नेटवर्क कहाँ छ भनेर पत्ता लगाउने गरेको बताउँछन् । रुसले जर्मनीलाई कूटनीतिक हिसाबले पनि अत्यन्त अपमानजनक व्यवहार गर्दै आएको जनाइएको छ ।

जर्मनीसँग भएका गतिविधि गोप्य नहुने भन्दै विगतमा कतिपय युरोपेली मुलुकले गुनासो गर्दै आएका थिए । हाल रुस वा चीनका उच्चस्तरीय जासुस नै समातिन थालेपछि त्यसपछाडिका कारणको विस्तारै खुलासा पनि हुन थालेको छ । बीबीसीबाट ।