फागुन, ३ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छ ।
माघ १३ गते बसेको पार्टीको केन्द्रीय कार्य समितिको निर्णयअनुसार जिल्ला कार्य समितिहरूले एकैदिन प्रदर्शन गर्ने भएको हो।
विरोधसभालाई सम्बन्धित जिल्लाको पार्टीको शीर्षस्थ नेताहरूले सम्बोधन गर्दै छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले आइतबार पार्टीका सबै नेता कार्यकर्तादेखि लोकतन्त्रवादीहरूलाई प्रदर्शन र विरोधसभामा सहभागिताका लागि अपिल गरेका थिए।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदम भनेको कांग्रेसले यसअघि भातृ संस्थाहरूमार्फत माघको १९ गते र शुभेच्छुक संगठनहरूले माघको २४ गते प्रदर्शन गरिसकेको छ ।







