फागुन, १० काठमाडौं । प्रतिवन्ध लगाएको दुई वर्ष पुग्नै लाग्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिवन्धलाई फुकुवा गर्ने तयारी गरेको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिवन्ध फुकुवा गर्ने भएको छ । विप्लवले शनिबार विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण गतिविधि गर्न दिने वातावरण भएको अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न सकिने बताएका थिए ।
विभिन्न चरणमा गोप्य रूपमा विप्लवका केही शीर्षस्थ नेताहरूबीच सरकारको सम्पर्क सूत्रहरूले गरेको वार्तापछि विप्लवको उक्त अभिव्यक्ति आएको थियो ।
परिणामतः सरकारले थुनामा रहेका विप्लवका तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्ने पनि जनाएको छ ।
सरकारले विप्लवको पनि मन जितेर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने वातावरण बनाउन चाहेको छ ।
उसलाई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी गराउने सरकारको तयारी रहेको पनि चर्चा हुँदै आएको छ ।
तर, सरकारले औपचारिक रूपमा उसलाई सरकारमा सहभागी गराउने कि नगराउने भन्ने निर्णय गरेको छैन ।
विप्लव समूहलाई सरकारले २०७५ फागुन २८ गते हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रतिवन्ध लगाएको थियो। यसबीचमा उसका दुई हजार बढी नेता कार्यकर्ता प्रहरीले पक्राउ गरिसकेको छ।







