आएकै हो हाम्रो डेथ लाइन ?

किरण पौड्याल

गएको सिजको कमेडी च्याम्पियनमा सुमन कार्कीले युट्युव पत्रकारिताको घोर व्यंग्य गरे । उनले कमेडीको पहिलो लाइनमै फोनमा बोलको अभिनय गरेझैँ गरेर जर्ज ऋचा शर्मालाई जिस्क्याए । ‘ओए, ऋचा मेम आउनुभएको छ, डलर खस्छ, छिट्टो आइज’।उनले भने,‘भर्खर विवाह भएको छ, बच्चा कहिले ? भन्ने कन्टेन्ट बेच्नुपर्छ । ’

त्यसपछि अर्कैले कन्टेन्ट बनाइसकेको बुझेपछि उनले विवाहित ऋचाका श्रीमानको प्रसंग कोट्याए । ‘ओए, अर्को कन्टेन्ट बेच्नु पर्छ, श्रीमान् भन्छन् मज्जा आयो ।’ अलि भरे सुमनले थपे,….मज्जा आयो, कमेडी च्याम्पियन हेरेर ।’ कमेडीको विषय वास्तविक नहुन सक्छ । तर, यसले नेपाली पत्रकारिताको चित्रण गरिरहेको छ ।

सुमन आफैमा एक पत्रकार हुन् । उनी कुनै बेला राजधानीको प्रसिद्ध रेडियो, रेडियो अडियो (फर सी नेटवर्क) मा काम गर्थे । त्यसैले पनि यो प्रसंग यहाँ उठाउनु उचित छ । उनले सोही प्रसंगमा युट्युवलाई घनघोर गाली गरे । घरी नायिकाको समुद्रको टट्को कुरा निकाले त डाइनिङ टेबलको । सुमनले हसाउने नाममा नेपाली पत्रकारिताको वास्तविकता झिकेका थिए ।

कमेडी च्याम्यियनकै कुरा गरौ । एउटा प्रसंगमा च्याम्पियसका प्रतिष्पर्धी सजन श्रेष्ठ ट्याक्सी चालक बनेका हुन्छन् । उनी चालक, अनि उनलाई सहयोग गर्न आएका व्यक्ति क्षितिज केसी । क्षितिज केसी एक युट्युवर हुन्छन् । अभिनयमा क्षितिजसँग पेसाको कुरा हुन्छ । क्षितिजले आफू यट्युवर भएको बताउँछन् । सजनले क्षितिजलाई ट्याक्सीबाट निकाल्ने बचन बोल्छन् । किनकि, क्षितिजले भाइरल हुने नाममा विकाउ कन्टेन्ट युट्युवमा हाल्ने गरेको क्षितिज बताउँछन् ।

प्रसंग सजन र क्षितिजको मात्र होइन, यो प्रसंग समग्र पत्रकारिताको हो । क्षितिज रियल लाइफमा पनि युट्युवर हुन् । उनी युट्युवमा पहिले ‘सक्छस्’ कार्यक्रम चलाउँथे भने अहिले ‘वियर टु डियर’ कार्यक्रम चलाउँछन् । सजन आफै पनि आफ्नो कर्मबाट सन्तुष्ट छैनन् । मतलब, युट्युवरको नानाभाती घिन लाग्दा टाइटलले सजन अगाएका छन् ।

युट्युवको कर्मले आम जनता अहिले आजित छन् । विषयवस्तुभन्दा बाहिरको टाइटलले युट्युवको लोकप्रियता घट्दो क्रममा छन् । यसै प्रसंगमा मिडिया विज्ञ मानिने डा. कुन्दन अर्यालले एउटा लामो लेखमार्फत भनेका छन्, ‘तपाईं युट्युवर बन्ने कि युटुवे’ । डा. अर्यालसँग लामो पत्रकारिताको अनुभव छ । उनीसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार पनि बनिसके ।

उनी समेत यट्युवकारीप्रति मन पराउँदैनन् । उनी युट्युव राम्रो क्षेत्र भएपनि यहाँ भएका क्रियाकलापले विग्रिएको बताउँछन् । डा. अर्यालक झै अहिलेको युट्युवकारिता यस्तै किसिमको छ । भाइरल बनाउने, भ्युज बढी लिने नाममा अनेक प्रोपोगाण्डा हुन्छ, यहाँ । आफू लोकप्रिय हुनका लागि कसैको चीरहरण गर्न पनि पछि परिदैन, यहाँ । यसै सेरोफेरोमा गायक एवं वक्ता रमेश प्रसाईंले भनेको प्रसंग जोड्न उचित देखिन्छ । उनले एक प्रसंगमा भनेका छन्,‘साथीहरु, भात खानका लागि काकीसँगको करणी भिडियो बेचिरहेका छन् ।’ उनलाई पनि युट्युवकारिताको हर्कतले घिन लागेछ । यो क्षेत्रलाई दिनानुदिन प्रतिकूल र कमजोर बनाइदैछ । युट्युव सञ्चालकहरुले आफू डलर कमाउने नाममा अनेक थरी प्रोपोगाण्डा रच्ने गरेका छन् ।

अब कुरा गरौं अनलाइन मिडियाको
युट्युव पछि बढी प्रोपागाण्डा मच्चाउनेमा पर्छ, अनलाइन मिडिया । लाइक, कमेन्ट बढाउने नाममा यिनीहरु पनि सस्तिएका छन् । अनलाइन मिडियाको खराबी पक्ष चाहिँ ब्रकिङको नाममा दिने फर्जी समाचार हुन् । यसैले सस्त्याएको अनलाइन पोर्टललाई । एकपटक मेरा मित्रले भनेको कुरा यहाँ राख्नु उचित देखिन्छ ।

कोरोना महामारीको समाचार पढ्ने क्रममा मित्रले चार जना संक्रमित भन्ने समाचार फेला पारेछन् । तत्काल फोन गरे । जबकी नेपालमा कोरोनाको संक्रमण देखिएकै थिएन । मैले हतारमा स्वास्थ्य मन्त्रालयको वेवसाइड हेर्दा त्यहा त्यस बारे केही सूचना थिएन् । भरे बुझ्दै लादा विदेशमा संक्रमित बनेका नेपाली रहेछन् । विदेशमा चार संक्रमित भनिएको भए यति धेरै भ्रममा परिने थिएन । दिनानुदिन झुटको खेती बढिरहको छ । कसैलाई दानवत्वकरण गर्न र कसैलाई देवत्वकरण गर्न अनलाइन मिडियालाई अघि बढ्ने गरेको देखिन्छ । नेपालका चल्तीका मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण भएको एक अध्ययनले देखाएको छ । मिडिया एक्सन नेपालले गरेको ‘नेपाली मिडियामा भ्रामक समाचार’सम्बन्धि अध्ययनले ३.७० प्रतिशत समाचार भ्रमपूर्ण भएको देखाएको हो ।

मिडिया एक्सनले लकडाउनपछि नेपालका कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक, नेपाल समाचारपत्र, गोरखापत्रसहित १० दैनिक, अनलाइन खबर, बाह्रखरी, सेतोपाटी, रातोपाटी, थाहखबर, देशसञ्चार, नेपाल खबर, हिमालखबर, नेपाल लाइभ र खबर हबसहित १० अनलाइन समाचार पोर्टलमा प्रकासित ४९ हजार ५१ वटा समाचारको अध्ययन गरि सो निष्कर्ष निकालेको हो । अध्ययन प्रतिवेदनअनुसार लकडाउनपछिका ३ महिनामा अध्ययन गरिएका ४९ हजार ५१ समाचारमध्ये १ हजार ८१७ वटा समाचारमा गलत र भ्रामक सूचना समावेश थिए ।

यीमध्ये राष्ट्रिय दैनिक पत्रिकाले ९०७ वटा र अनलाइन समाचार पोर्टलहरूले ९१० वटा गलत र भ्रामक समाचार छापेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा अध्ययन गरिएका करिब ५० हजार समाचारमध्ये केबल १९ वटा समाचारमात्रै गलत जानकारीयुक्त थिए भने ३६ वटा समाचारमा भ्रामक शीर्षक थिए ।

यी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषणमा सबैभन्दा बढी भ्रामक स्रोत (करिब ९६ प्रतिशत)को सबैभन्दा बढी प्रयोग भएको र त्यसपछि भ्रामक शीर्षक, दुष्प्रचार र गलत जानकारी रहेको अध्ययनमा उल्लेख छ

धमला र लामिछानेको क्रेजले छाँयामा पत्रकारिता
कुनै प्रसंगमा अग्रज पत्रकार केदार शर्माले कुराकानीका शिलशिला भन्नुभएको थियो । ‘पत्रकारिता कस्तो हुन्छ भनेर सिकाउनु पर्नेमा एकाविहानै धमलाको अन्तर्वाता प्रशारित गर्नुपर्छ ।’ यसको मतलव धमला पत्रकारिताका नाममा पेशागत धर्म समेत विर्सिएर अन्र्तवार्ता लिने गरेका छन् । पत्रकारिता नियममा एक कुरा भनिएको हुन्छ, आम मिडियाले धमलाकै अन्तर्वाता बजाउँछन् ।

यसैले आम जनताको दिमागमा धमलाकै आडमा पत्रकारिता अडिएझैं लाग्छ । मतलब, नेपाली पत्रकारिताको मेरुदण्ड नै धमला हुन् । धमला पत्रकारितामा चलेका भएपनि सस्तो लोकप्रियता पाएका व्यक्ति हुन् । अन्तर्वाता दिने व्यक्तिलाई बोल्नै नदिइ आफू मात्रै बोलिरहने कारणले धेरैको गाली सहन वाध्य छन्, उनी ।

त्यसमाथि पनि महिलालाई यौनका कुरा जोडेर पनि उनी अलोकप्रिय हुन् पुग्छन् । कुनै बेला ज्योति मगर, ऋचा शर्मा, दीपाश्री निरौला, निरुता सिंहमाथि यस्तै प्रश्न गरेर बदनाम हुनु परेको थियो । यस्तै, नेपाली मिडियामा सदावहार छाउने नाम हो, रवि लामिछाने । कुनै बेला अन्र्तवार्ता लिएर गिनिज बुकमा नाम लेखाउन सफल लामिछाने पनि पत्रकारिताको मर्यादा बाहिर काम गर्छन् । लामो समय अमेरिका बसेर फर्केपछि नेपाली मिडियामा छाएका व्यक्ति हुन् । उनी टेलिभिजन सेटबाटै कसैको सातो मन्त्रिन पछि पर्दैनन् । कुनै प्रसंगमा आफै न्यायधीश, आफै पत्रकार बन्ने पद्धतिमा लामिछाने छन् । यो सरासर पत्रकारिताको नियम बाहिरको कुरा हो । हुन त उनले प्रेस काउन्सिलको कार्ड समेत बहिस्कार गरेका छन् । यसैले उनी सरकारको नियम मान्न बाध्य छैनन् । धमला र लामिछाने, एक मानक मात्र हुन् । अराजक पत्रकारिता गरेर छिट्टै लोकप्रिय हुनेको फेहेरस्त नेपाली मिडियामा धेरै छ । यही कारणले पत्रकारितालाई बागमती बनाउँदैछन् ।

हाम्रो स्थान कहाँ छ ?
युट्युव र अनलाइन पोर्टलभन्दा टाढाको पत्रकारिता मेरो कर्म हो । म प्रिन्ट मिडियोको पत्रकार । अरु क्षेत्र जस्तो बग्रेल्ती विरामी समाचार हामी सम्प्रेषण गर्दैनौ ।तर, हामीमा पनि बाध्यता छन् । अनलाइन मिडियाका पुराना समाचार नै भोलिको अंकमा प्रिन्ट मिडिया निकाल्नु पर्छ ।

मैले केही अघि एउटा कार्यक्रममा नै भनेको थिए ‘हामी अपडेट हुन सकेनौ’ । हो, हामी दशकअघि जे गथ्र्यो, जस्तो शैली अपनाउथ्यौ । त्यही काम आज गर्र्दैछौ । हामीमाथि लाग्ने आरोप नै यही हो । बासी समाचार सम्प्रेषण हुन्छ । साँच्चिकै भन्ने हो भने, प्रिन्ट क्षेत्र मिडियाकै सबैभन्दा विश्वसनिय हुनु आवश्यक देखिन्छ । पछिल्लो समय रेडियो र टेलिभिजनको लोकप्रियता घटेको छ । कुनैबेला रेडियो नेपाल र नेपाल टेलिभिजनको क्रेस आधा पनि छैन । गोरखापत्र जस्ता प्रिन्ट मिडियाको त कुरै नगरौं । यदि यो क्षेत्र बचाउने हो भने नयाँ काम देखाउनु पर्ने देखिन्छ ।नयाँ खोज गर्नुपर्ने देखिन्छ । प्रिन्ट मिडियालाई अन्त्य नगर्नका ल्याटेस्ट न्यूज दिएर पाठकलाई आकर्षण गर्नुपर्ने देखिन्छ । यसका लागि आम प्रिन्ट मिडिया प्रेमीको ध्यान जानु आवश्यक छ ।

सक्रिय पत्रकारितामा अधिकांश पत्रकार प्रिन्ट मिडियाकै उत्पादन हुन् । यो क्षेत्र धरासायी भएका अवस्थामा आफू बेचइनले खुसी हुन मिल्दैन । पछिल्लो समयपनि केही प्रिन्ट मिडियाले धेरैको ध्यान खिचिरहेका छन् । उदाहरणका लागि ः नयाँ पत्रिका । समाजको मर्म बुझेर गरिने यसका धेरै समाचारले पाठकको ध्यान गइरहेको छ । तर, यसको अनलाइन पोर्टलले धेरैको ध्यान खिचिरहेको छ । यसको मतलब नयाँ काम गर्दा समाजमा बच्न सक्छन् भन्ने उदाहरण यसबाट बुझिन्छ । केही प्रिन्ट मिडियाले अन्तर्राष्ट्रिय जगतका पत्रिकासँग सम्बन्ध स्थापना गरेर सहकार्य गरेका पनि थिए । यसलाई बचाउन यस्ता काम गर्नुपर्ने देखिन्छ । यति प्रिन्ट मिडिया बचाउन नलाग्ने हो भने अधिकांश प्रिन्ट मिडियामा कार्यरत पत्रकार सडकमा आउने छन् । कोरोना महामारीपछि प्रिन्ट मिडियाका धेरै पत्रकार कामविहिन बने । कसैलाई तोकेरै त कसैलाई नतोकि कामबाट निकालियो । प्रिन्ट मिडियाको अन्त्यपछि फेरि यसको भाग २ आउने निश्चित छ ।

(लेखक इलामका सक्रिय पत्रकार हुन्)