१७ भदौ, काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं मैतीदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार उनीहरु दुवैको मंगलबार साँझ मृत्यु भएको हो।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनीहरुको आइसियूमा उपचार हुँदै आएको थियो।
ज्यान गुमाउने पुरुषमा सुगर, प्रेसरसहितका स्वास्थ्य समस्या रहेको चिकित्सकहरुले बताएका छन्। उनलाई १५ भदौमा अस्पताल भर्ना गरिएको थियो। २० वर्षीया युवतीमा मिर्गौला सम्बन्धि समस्या रहेको थपलियाले बताए।
गएराति नै रुपन्देहीको भैरहवामा पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो समय मृत्यु भएका तीनसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ४२ पुगेको छ।







