भारतीय कांग्रेसका नेतालाई भाजपामा प्रवेश गर्न मोदी सरकारका केन्द्रीय मन्त्रीको सुझाव

१७ भदौ, काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा प्रवेश गर्न मोदी सरकारका एक केन्द्रीय मन्त्रीले सुझाव दिएका छन्।

कांग्रस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै मोदी सरकारका केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिएका हुन्।

कांग्रसका बरिष्ठ नेताहरु गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनले बताए।

‘सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किन्छ,’ उनले भने, ‘धेरै उमेर पुगेका बरिष्ठ नेताहरु कांग्रेस रहिरहँदा कुनै अवसर नपाउने भएकाले भाजपामा प्रवेश गर्नु नै उपयुक्त हुन्छ।’

केही समयअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए। त्यसयता कांग्रेसमा विवाद बढेको छ।

कतिपय नेताहरुले राहुललाई नै पुनः अध्यक्ष बनाउनु पर्ने अडान राख्दै आएका छन् भने कतिपय नेताहरुले गान्धीको विकल्प खोज्नु पर्ने अडान राख्ने गरेका छन्। सहमति नजुट्दा भारतीय कांग्रेस पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन।

नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ। तर केही समयका लागि त्यो जिम्मेवारी दिएपनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएपछि पार्टीमा विवाद फेरि बढेको छ।

विवादको यही मौकामा मोदी सरकारका मन्त्री रामदासले कांग्रेसका नेतालाई आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गरेका हुन्।