कांग्रेस सांसद सिंहको प्रश्न– सीमाबारे सैन्य समाधान खोजिएको हो ?

१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक समाधान खोजेको हो कि सैन्य भन्दै प्रश्न गरेका छन् ।

‘सीमा समस्या समाधानका लागि सैन्य समाधान खोजेको हो कि कूटनीतिक ?’ शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद सिंहले भने । तर, उनले यो प्रश्न भारतलाई सोधेको हो कि नेपाललाई खुलाएनन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, दुबै मन्त्रालयका कर्मचारी र सांसदहरु सहभागि थिए ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक माध्यमबाटै समाधान चहिरहेको बताए । ‘सैन्य समाधान खोजेको हो कि कूटनीतिक भन्ने जस्ता पब्लिक खपतका कुरा नगरौं । हामी कुटनीतिक वार्ताबाटै समाधान खोज्छौं’ मन्त्री ज्ञवालीले भने ।