उपसभामुखको निर्वाचन कार्यतालिका ल्याउन सभामुखलाई सुझाव

फागुन, १३ काठमाडौं । उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटालाई नेताहरुले सुझाव दिएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापना भएपछि सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका नेताहरुले सभामुख सापकोटालाई यस्तो सुझाव दिएका हुन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसी लगायतले सिंहदरबार पुगेर सापकोटालाई भेटेका थिए ।

भेटपछि नेता गुरुङले भने, ‘उपसभामुखको निर्वाचन गराइदिनपर्यो भन्ने सुझाव दिएका छौं । निर्वाचनको मिति तोकिदिए भइहाल्छ । त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्छ ।’

तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पद पाउने अवस्था छ । तर, नेकपाले कसलाई समर्थन गर्ने भनेर टुङ्गो लगाउन सकेको छैन ।

सभामुख र उपसभामुख फरक राजनीतिक दल र लिंगबाट हुनुपर्छ । फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने भएपछि नेकपाले उपसभामुख निर्वाचन गराउन नचाहेको आरोप लाग्दै आएको छ ।

सर्वोच्चमा रिट

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

गत असार ९ गते दायर भएको उक्त रिट समेत अगाडि बढ्न सकेको छैन् ।

संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ ।

यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएको थियो ।

नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, संघीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएको छ ।

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन् ।