‘प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ’

फागुन, १५ काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् ।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताए ।

उनले नेकपाको अर्को समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गरे । “प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ ।, उनले भने, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।” उनले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउँदै प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए ।

“अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,” उनले भने, “अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा हामीहरु छौँ ।” उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताए । उनले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको भनाइ राखे ।

नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताउनुभयो । उहाँले अब संसद्मा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताए ।

अनेरास्ववियुका संयोजक ऐन महरले सर्वोच्च अदालतको फैसलाले मुलकुलाई अस्थिरतातर्फ धकेल्नेलाई फाइदा पुगेको बताए ।