१७ भदौ, काठमाडौं। कोरोना सङक्रमणबाट भक्तपुरमा ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनपछि ४० वर्षीय छोराको पनि मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका-७, नगदेश निवासी एक परिवारका आमाछोाकै कोरोना संक्रमणबाट मृत्यु भएको हो। परिवारका दुई सदस्यको मृत्यु भएपछि सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन्।
यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको पनि मंगलबार राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि परीक्षण गर्दा आमामा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएको थियो। आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उनले बताए। आमालाई दमको रोग रहेको र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका पारिवारिक स्रोतले जानकारी दिएको छ।
मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन्।
नगरप्रमुख श्रेष्ठले भने, ‘आज स्वास्थ्य टोली लिएर म घर मै गएँ, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ।’
सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरिएको, परिवारलाई स्यानिटाइजर दिइएको उनले बताए। पीडित परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उनले बताए।
भक्तपुर जिल्लामा कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो। भक्तपुरमा अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भइसकेको छ।







