प्रचण्ड-माधवलाई अर्को पार्टी दर्ता गर्न ओलीको सुझाव

फागुन, १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधवलाई अर्को पार्टी दर्ता गर्न सुझाव दिएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा अन्तरवर्ता दिँदै उनले आफु लामो समयदेखि कम्युनिस्ट आन्दोलन एकिकृत गर्न लागिपरेको बताए ।

भने, ‘अहिले एउटा चोइटो उछिटिन उछिटिन खोज्दैछ । उहाँहरु उछिटिन खोज्दै हुनुहुन्छ । संगै बस्न सकिँदैन भने अर्को पार्टी खोलेर बस्दा भयो नि । आजकल डिभोसीहरुले त हाँसी हाँसी गर्छन ।’

प्रचण्ड पक्षले एक वर्ष अगाडि नेकपा माओवादी भनेर दर्ता गरेर राखेको उनले बताए । नेकपा एमाले दर्ता भएको सन्दर्भमा उनले आफुले दर्ता गर्न नलगाएको तर, एमाले दर्ता गर्ने आफ्नो पुरानो साथीको छोरा बुहारी भएको भन्ने थाहा पाएको उल्लेख गरे ।

‘मैले सुनेँ उहाँहरुले दाबी गर्नुभयो । पार्टी अर्को बनाउनुभएको छैन भने यो चिह्न चाहियो भन्ने हुन्छ । पार्टी अध्यक्ष, महासचिवलाई थाहा छैन । मलाई अचम्म लाग्यो उहाँहरु दाबी गर्न जानुभयो रे’ ओलीले भने ।

आफ्नो पक्षमा संसदीय दलमा र पार्टीमा समेत बहुमत रहेको पनि उनको जिकिर छ ।

निर्वाचन आयोगमा सूची बुझाएको बारे दलको नेता, पार्टीको अध्यक्ष, महासचिवलाई थाहा हुनुपर्ने ? भन्दै उनले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले अनुशासनहिन काम गरेको बताए ।

अनुशासनहिन काम गरेकाले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता र देव गुरुङलाई मुख्य सचेतकबाट अवकाश दिएको ओलीले बताए ।

प्रचण्ड र ओलीप्रति ब्यङ्ग्य

‘संसदीय दलको नेता उहाँ माइतीघरमण्डलाबाट छानिनुभयो’ प्रचण्डप्रति ओलीको ब्यङ्ग्य र चुनौती छ, ‘बहुमत उहाँसंग छ भने संसदबाट प्रधानमन्त्री फेरे भइगो नि । घोषणै गर्नुपरेपछि किन कन्जुर्स्र्याईं गर्या होला, किन दलको नेतामात्रै प्रधानमन्त्री नै घोषणा गरिदिया भए, ठोक्द्या भए हुन्थ्यो । के अलि अलि गर्या होला किस्ताबन्दीमा ।’

आफुले संसदीय व्यवस्था र प्रणालीमाथि अविश्वास नगरेको भन्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई विश्वास गर्न नसकेर प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

अहिले पनि आफु ६४ प्रतिशतको प्रधानमन्त्री भएको उनको भनाई छ । अविश्वास प्रस्ताव पारित गरेर हटाउन पनि उनले चेतावनी दिए । दर्ता भइसकेको अविश्वास प्रस्ताव भएपछि ल्याउन उनको चुनौती छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डले प्रधानमन्त्री बनाइदिएको भन्ने टिप्पणीको खण्डन गरे । ‘सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्याइदिएको छु धाक लाउने ?’ उनी भन्छन्, ‘उहाँको बहुमत कहिले आयो र, बहुमतको प्रधानमन्त्री कहिले हुनुभयो उहाँ ? पहिलोपल्ट तमासा गर्दा पनि हामीले साथ दिएर बनया होइन ? कहाँ थियो बहुमत ?’

प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्रै जिम्मा लिन्छु भनेको भन्दै आलोचन गरे ।

आफु प्रजातन्त्र फाल्न भनेर उपद्र मच्चाएर नहिडेको भन्दै उनले माधव नेपालप्रति समेत टिप्पणी गरे, ‘गणतन्त्रप्रति विशेष अडान उहाँ (माधव नेपाल)को विशेष रहेछ भने पनि दाम चढाएको पनि त्यहि हो । गणतन्त्रप्रतिको आस्था, निस्टा पनि त्यहि हो, दाम चढाएको परिक्रमा गरेर, ट्याक्क ढोगेको ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्थापना भइसकेपछि प्रचण्ड–माधव नेपालप्रति टिप्पणी गर्दै ‘भाइहरु’ भनेका थिए ।

उनले यसको प्रष्टीकरण दिए, ‘बढी (उमेर) भएकालाई भाइ भनया छैन । जुम्ल्याहामा त एकछिनअघिपछि जन्मिएको भाइ हुन्छ, दुई चार वर्ष कान्छाहरुलाई मैले भाइ भने भने, प्रेमले भाइ भनेको कुन चाहीँ ठूलो अपराध, फेरि मुद्वा हाल्न जानुहुन्छ कि क्या हो उहाँहरु ।’

‘मैले एकल सरकार चलाउन पाएको होइन’

आफु नेतृत्वको सरकार एकल बहुमतको सरकार भएपनि वस्तुत संयुक्त सरकार जस्तो भएको र आmुले एक बहुमतको सरकार चलाउन नपाएको प्रधानमन्त्री ओलीको गूनासो छ ।

‘प्रधानमन्त्रीय पद्धति भए पनि, एकल पार्टीको सरकार भए पनि वस्तुततह त्यो संयुक्त सरकार जस्तो थियो । सबैलाई थाहा छ । मैले एकल सरकार चलाउन पाएको होइन । निर्णय गर्न पाएको होइन’ ओलीले भने ।

प्रचण्ड–माधव पक्षले रोक्न खोज्दाखोज्दै पनि आफुले थुप्रै काम गरेको उनको दाबी छ ।

‘उहाँहरुले कामै गर्न दिनु भएन भन्या होइन, उहाँहरुले रोक्नुभयो, रोक्न खोज्नुभयो दुनियाँलाई थाहा छ । तर, पनि म अगाडि बढेको छु, थुप्रो काम गरेको छु । आयोगहरुको नियुक्तिहरुदेखि लिएर अनेक प्रोजेक्ट, अनेक आयोजना थुप्रो रोक्नुभयो नि त’ ओलीले भने, ‘उहाँहरुले समातेका मन्त्रालयहरु त डेगै चल्ने स्थिति भयो नि त। विलकुल असहयोग थियो’ प्रधानमन्त्री ओलीले भने ।

असहयोगका बाबजुत कोरोना महामारी नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको उनले बताए ।

कोरोनामा राम्रो गरेका मध्ये एक प्रतिशत देशमा नेपाल पर्ने उनको दाबी छ । झण्डै २ सय देश रहेकोमा २ वा घीनमा नेपाल पर्ने पनि प्रधानमन्त्री ओलीको जिकिर छ ।

कोरोनामा मान्छे मन नदिएको पनि प्रधानमन्त्रीले बताए । तथापि सरकारलाई उडाइएको भन्दै असन्तुष्टी राखे ।

आफुले नाक सफा गर्न, बेसार पानी खान भन्दा अनावश्यक रुपमा विरोध गरिएको उनले बताए ।

म राजीनामा पत्र लेख्दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने दोहोर्याएका छन् ।

‘राजीनामा पत्र खल्तिमै छ ? यहि कोर्टको कि अन्त कतै छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओली ‘राजीनामा अं राजीनामा .. भन्दै अकमकाउँछन् । प्रस्तोताले फेरि सोध्छन, ‘पत्र कहाँ छ भनेर सोधेको ?’

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘पत्र चाहीँ म लेख्दिन, तपाईंलाई बताइदिउँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन् ।’

आफुले अरु पनि बाटा समाउन सक्ने प्रधानमन्त्रीको भनाई छ ।

‘…मैले अरु पनि बाटा समाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्यो नि’ ओलीले भने, ‘अर्को पनि मेरो बाटो हुन सक्छ । मैले विश्वासको मत पनि लिइन भने …।’

प्रस्तोताले ‘संकटकाल लगाउनुहुन्छ ?’ भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले हाँस्दै भने, ‘अर्को पनि बाटो छ, अविश्वासको प्रस्ताव राखेर, अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने संसदीय बाटो छ, संवैधानिक, कानुनी बाटो छ ।’

संसदीय दलको नेताबाट हटाइदिए के हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘संसदीय दलमा बहुमत कल्ले ल्याउँछ ? छाती पिट्नु बेग्लै कुरा हो, बैठक बोलाउने भनेर पोहोर गरेका हस्ताक्षर अहिले बिक्री गर्नु बेग्लै कुरा हो ।’

जे प्रयोजनका लागि भनेर संकलन गरिएको त्यसविपरित सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको उनको टिप्पणी छ ।

सर्वोच्च अदालतले आफुलाई प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको ओलीको प्रष्टीकरण छ । आफुमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको उनको जिकिर छ ।

‘मैले के भयो, बहुमत लुज गरेँ ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

‘संवैधानिक हार त भयो नि ?, अदालतले त हरायो नि ’ भन्ने प्रतिप्रश्नमा ओली भन्छन्, ‘के मा हरायो, राजीनामा देउ भन्यो ? अदालतले राजीनामा देउ, यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ? मैले राजीनामा गर्ने हो भने, अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ ।’

‘संसद विघटन गर्नु हुँदो रैनछ, गल्ति गरेछु, त्यस्तो लाग्या छ ?’ भन्ने प्रश्नमा ओली भन्छन्, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, चुनावतिर देश जान्थ्यो । समस्याको समाधान हुनेतिर देश जान्थ्यो ।’

कांग्रेस र जसपाको साथ पाउने दाबी

२३ गते संसद बैठक बस्ने उल्लेख गर्दै उनले संसदमा आउने अविश्वास प्रस्तावलाई पराजित गरिने बताए । अविश्वास प्रस्ताव फेल गराउन कांग्रेस र जसापाको साथ पाउने उनको दाबी छ ।

‘नेपाली कांग्रेस र मधेसवादी दलले राजनीति गरेको कुनै अमुक महत्वकांक्षी व्यक्ति जो पदभन्दा बाहिर रहन नसकेर छटपटाएर राष्ट्रिय उपद्र मच्चाउँछ त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि उहाँहरुले पार्टी खोल्या हो ?’ ओलीले भने, ‘उहाँहरुले राजीनिति गर्नुभएको त्यसका लागि हो ? यसका लागि पेण्डुराबक्स खोलिरहनुपर्छ र भन्या ?’

कांग्रेस सभापति शेरबहादुर देउवा र आफ्नो सम्बन्ध, रामचन्द्रै पौडेल र आफ्नो सम्बन्ध ०३१ साल देखिएको भएको भन्दै उनले देउवा र पौडेलसंग गोलघरमा भेट भएको स्मरण गरे ।

कांग्रेस सभापति देउवासंग ४७ वर्षदेखि लोकतन्त्रका लागि लड्ने एग्रिमेन्ट रहेको र अहिले पनि त्यो जारी रहेको बताए ।

पछिल्लो सन्दर्भमा भने कुनै सम्झौता नरहेको ओलीको प्रष्टीकरण छ ।