फागुन, २२ काठमाडौं । शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्यो । बैठकपछि यो समूहका संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको पक्षमा ११५ जना सांसद खुलेको बताए ।
शुक्रबार १११ जना सांसदले हस्ताक्षर गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
तर, स्रोतका अनुसार १०७ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।
तथापि, प्रचण्ड–माधव समूहले ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रिय सभा सदस्य आफुहरुको पक्षमा खुलेको दाबी गरेको छ ।
नेकपा केपी शर्मा ओली समूहले पनि शनिवार संसदीय दलको बैठक बोलाएको छ । ओली समूहले नेकपाका सबै संसदलाई उपस्थितिको लागि आग्रह गरेको छ ।
बहुमतका लागि १११ आवश्यक
नेकपाको प्रतिनिधिसभामा १७४ सांसद छन् । राष्ट्रिय सभामा ५० जना सदस्य छन् । दुबै सभामा गरी नेकपाका कुल २२४ जना सांसद हुन् ।
प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी सानु शिवाको निधन भएको छ । उनको ठाउँमा अर्का सांसद आएका छैनन् ।
प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय दलमा मत दिन पाउँदैनन् ।
यसकारण अब नेकपा संसदीय दलमा २२१ जनामा बहुमत जुटाउनुपर्ने हुन्छ । २२१ को ५० प्रतिशत भनेको १११ हो ।
त्यहि १११ आफुहरुको पक्षमा हस्ताक्षर गरेर खुलिसकेको भनेर प्रचण्ड–माधव समूहले बहुमतमा रहेको संदेश दिन खोजेको छ ।
यहि सिको नेकपा ओली समूहले पनि गर्न सक्छ । उसले पनि आफुहरुको पक्षमा १११ भन्दा बढी नै खुलेको र हस्ताक्षर गरेको दाबी गर्न सक्छ ।
प्रचण्ड–माधव समूहले १११ जनाले हस्ताक्षर गरेको दाबी गरेपनि नाम सार्वजनिक गरेको छैन् ।
उसैगरी ओली समूहले पनि नाम सार्वजनिक नगरी बहुमत रहेको दाबी गर्न सक्छ ।
बामदेव गौत्तम कता ?
प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सकिएको केहीबेर पछि प्रधानमन्त्री ओलीले बामदेव गौत्तमलाई उनकै निवास पुगेर भेटेका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार संसदीय दलको बैठक बोलाएका छन् । अघिल्लोदिन प्रधानमन्त्री ओली गौतमलाई भेट्न उनकै निवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
उपाध्यक्ष बामदेवे आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान चलाइरहेका छन् ।
नेकपाका दोस्रो तहका केही नेताहरु पनि गौत्तमकै जस्तो अभियानमा छन् ।
गौत्तमसंग, गौत्तम र गौत्तमकी श्रीमती तुलसा थापामगर छन् । सांसद लालबाबु पण्डित लगायत केही नेताहरु तटस्थ रहेका छन् ।
म कुनै समूहको बैठकमा जान्न: पण्डित
नेकपा सांसद लालबाबु पण्डितले आफु पार्टी एकता अभियानमा रहेको बताएका छन् । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा सहभागि नभएका पण्डितले ओली समूहको संसदीय दलको बैठकमा पनि सहभागि नहुने बताएका छन् ।







