सुन्दरीजलमा मेलम्चीको पानी खस्यो

तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना

फागुन, २३ काठमाडौं । मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराएका छन्।

आयोजना सुरु भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो।

सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो।

सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन।

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो।

यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।