पहिलो हिमाल आरोहण अनुमति जारी

फागुन,२७ काठमाडौँ ।पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहण अभियान अन्तर्गत खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको छ । 

विभागका अनुसार ४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको हो । ‘अबको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत यो पहिलो अनुमति हो,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् । विभागले अनुमतिपत्र जारी गरेपछि उनीहरुसहित नेपाली शेर्पाहरुको समूह हिमाल आरोहणका लागि बुधबार लुक्लातर्फ लागेको छ ।

विभागका अनुसार यी विदेशी नागरिकहरुको समूह नेपालले कारोना महामारीमा बनाएको नयाँ नियम पालना गर्ने पहिलो पर्वतारोही टोली भएको छ । आरोहण अनुमति लिनुअघि यी क्यानेडियन नागरिक ठमेलस्थित मलबेरी होटलमा १५ दिन क्वारेन्टाइन बसेको आरोहण व्यवस्थापक एवं एसेन्ट हिमालयजका प्रबन्ध निर्देशक लाक्पा दोर्जी शेर्पाले बताए ।