२७ भदौ, काठमाडौं ।
पछिल्लो समय नेपालका दुई छिमेकी र विश्व राजनीतिका प्रभावशाली पात्र चीन र भारतबीच विवाद उत्कर्षमा पुगेको थियो । तीन महिनादेखिको तनावपूर्ण स्थितिले युद्धका आँकलन समेत हुन थालेका थिए ।
तर अहिले स्थिति सामान्य बनेको छ र युद्धको सम्भावना तत्कालका लागि टरेको छ । दुई देशको सैन्य विवादमा तेस्रो देश अर्थात् रुसले मध्यस्थता गरेपछि हालका लागि युद्धको सम्भावना समाप्त भएको हो ।
दुई देशको सीमाना ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलओसी) मा गएको आइतबार राति हवाइ फायर भएपछि स्थिति झनै जटिल बन्न थालेको टिप्पणी हुन थालेका थिए । तर दुई देशको आरोप प्रत्यारोपकाबीच रुसको मस्कोमा भारतका विदेशमन्त्री एस जयशंकर र चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वांग यीबीच पाँच बुँदे सम्झौतासँगै तत्कालका लागि परिस्थिति सामान्य भएको छ ।
रुसी परराष्ट्रमन्त्री सेर्गेइ लाभरोभले दुई मुलुकका विदेशमन्त्रीबीच बिहीबार वार्ताको वातावरण मिलाएका थिए । उनीहरूबीच यस विषयमा विवाद उत्पन्न भए यता पहिलोपल्ट संवाद भएको हो । तीनै जनाबीच डेढ घन्टा कुराकानी भएपछि दुई छिमेकीबीच अढाइ घन्टाजति छलफल भएको बताइएको छ ।
सहमतिको पहिलो बुँदामा दुई देशका नेतृत्व तहमा भएका असहमतिलाई विवादमा परिणत हुन नदिने विषय उल्लेख छ । यसैगरी दोस्रो बुँदामा वर्तमान तनाव कुनै पनि देशको हितमा नरहेकाले सीमा सुरक्षा फौजलाई निश्चित दुरी राख्न भनिने उल्लेख छ । उक्त बुँदामा सेनाहरूलाई परिस्थिति सहज बनाउन भनिने बताइएको छ ।
यसैगरी तेस्रोमा दुवै देशले सीमा मामिलामा विद्यमान सम्झौता तथा प्रोटोकल पालना गर्ने उल्लेख छ । चौथो बुँदामा सीमा विषयमा विशेष प्रतिनिधिस्तरीय संयन्त्रमार्फत संवाद गर्ने सहमती भएको छ । सँगै अन्तिम बुँदामा परिस्थिती सहज भएपछि दुवै देशबीच विश्वासको वतावरण बनाउन दुवै विदेशमन्त्री सहमत भएका छन् ।
भदौ २१ मा विवादित क्षेत्र लद्दाखमा हवाइ फायर भएको थियो । नेपाल, भारत र चीनको त्रिदेशीय सिमानामा दुवै देशले सैन्य उपस्थिति बढाएका थिए । युद्धका सामान, गाडी र सैनिकको उपस्थितिले युद्ध निश्चितप्रायः देखिएको थियो ।
पछिल्लो तीन महिनादेखि पटक–पटक दुई देशका सैनिक आमने सामने भइरहेका थिए । तर रुसको भूमिकासँगै अहिलेलाई युद्धको सम्भावना टरेको छ ।
(एजेन्सीको सहयोगमा)







