९ महिनापछि संसदमा शून्य समय

चैत, १० काठमाडौं । प्रतिनिधिसभामा ९ महिनापछि सांसदहरुको शून्य समयको सदुपयोग गर्न पाएका छन् ।

पुनस्थापित प्रतिनिधिसभाका चार वटा बैठकसम्म शून्य समयलाई स्थान दिइएन । पाँचौं बैठकमा मंगलबार २२ जना सांसदले शून्य समयमा बोले ।

१८ असार २०७६ मा अधिवेशन अन्त्यपछि प्रतिनिधिसभाको बैठक एकैपटक २३ फागुन २०७७ मा बस्यो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त कदमविरुद्ध परेको रिटमाथि ११ फागुन ०७७ मा फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गरेको थियो ।

पुनस्थापित भएपछि २३ फागुन ०७७ मा बसेको पहिलो बैठक सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुन पुगेको थियो ।

२६ फागुनको दोस्रो बैठक र चैत ३ गतेको तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारितमा सिमित रह्यो ।

चैत ६ गतेको चौथो बैठकमा दलका नेताहरु बोल्न पाएका थिए ।

सामान्यतया प्रतिनिधिसभाको अधिवेशन सुरु भएको दिन दलका शीर्ष नेताहरुलाई बोल्न दिने अभ्यास छ । यसपटक उक्त अभ्यासलाई तोडेर चौथो बैठकमा दलका नेताहरुलाई बोल्न दिइयो । त्यो पनि दलका शीर्ष नेता नभएर प्रतिनिधिका रुपमा दोस्रो तहका नेताहरुले धारणा राखे ।

यस्तै, प्रत्येक बैठकमा शुन्य समय राख्ने अभ्यास छ । तर, यसपटक पाँचौं बैठकमा मात्रै शुन्य समयको सदुपयोग भयो ।

पाँचौं बैठकसम्म आइपुग्दा सांसदहरुलाई विशेष समयमा बोल्न दिने अभ्यास सुरु भएको छैन् । प्रधानमन्त्री र मन्त्रीहरुसंग प्रश्नोत्तर जस्ता कार्यक्रम कहिलेबाट सुरु हुन्छन् यकिन छैन् ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गतेलाई बोलाइएको छ ।

सांसदमा बोल्न पाउँदा …

९ महिनापछि संसदमा बोल्न पाउँदा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महत खुसी देखिए ।

‘९ महिना भइसकेछ शून्य समयमा बोल्न नपाएको । आज बोलेँ, कर्णालीका कुरा राख्न पाएँ खुसी लागेको छ’ बैठकपछि सांसद महतले भने ।

उनले संसदको शून्य समयमा कर्णालीका जनताले अझै विजुली बाल्न नपाएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

‘यो संसदको हत्याराका प्रतिनिधि भनौं अथवा खानेपानी मन्त्रीका भाषामा श्री ५ सरकारका एक मन्त्रीले हाम्रो देश अल्पविकसितबाट विकाशशिल राष्ट्रमा पुगेको प्रमाणपत्र आउँदैछ भन्नुभएको छ’ उनले भने, ‘कर्णाली नेपालभित्र पर्छ । कर्णालीका जनताले विजुली पाएका छैनन् । कसले दिँदैछ यो आखा चिम्लेर विकाशशिल राष्ट्रको प्रमाणपत्र ? म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त होइन ?’

नेकपा एमालेका सांसद झपट रावलले सुरुमै भने, ‘करिब ९ महिनापछि संसदमा बोल्न पाउँदा खुसी व्यक्त गर्दछु ।’

तर, पुनः प्रतिनिधिसभाको अकालमै मृत्यु हुन सक्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिए ।

‘दल विभाजन गर्ने गतिविधिहरु देखिन थालेका छन् । राजनीतिक आकाशमा कालो बादल मडारिरहेको छ’ उनले भने, ‘मलाई आशा छ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल तथा प्रतिनिधिसभाका प्रतिनिधिहरुले प्रतिनिधिसभालाई अकालमै मृत्युवरण गराउने छैनन् । संविधानको रक्षा र पुर्नजिवित प्रतिनिधिसभाले हामी सबैलाई प्रेरणा र हौसला प्रदान गरोस् ।’

सांसदहरु सरकारको बचाउ र आलोचना पनि समय खर्चिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने टिप्पणी गरे ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, सांसद थापाले भने, ‘तर, हामी संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

उनले संसदलाई विजनेश दिन पनि सरकारलाई आग्रह गरे ।

‘एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ?’ सांसद थापाले प्रश्न गरे, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं ।’

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्रीले भारतीय रअको मान्छेसंग भेटेको भन्दै प्रश्न उठाए । उक्त भेटमा कुन विषयमा कुरा भएको हो सो बारे जानकारी दिइनुपर्ने उनको माग छ ।

संसद पुर्नस्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहिन बनाएको पनि सांसद मोदीले बताएका छन् ।

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले भने सरकारले राम्रा कामहरु गरेको भन्दै सरकारको बचाउ गरिन् ।

‘आम निर्वाचनमा बाव गठबन्धन बनाइयो । जनताले दुई तिहाई र स्थिर सरकारका लागि भोट दिएका थिए । तर, बिडम्बना नै भन्नुपर्छ सरकारलाई प्रतिपक्षी भन्दा पार्टीभित्रैबाट काम गर्न दिइएन । हलो अड्काउने गोरु चुट्ने काम भयो’ उनले भनिन् ।

नेकपा एमालेका सांसद खगराज अधिकारीले भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र लक्षित टिप्पणी गरे, – अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?

‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ सांसद अधिकारीको प्रश्न छ ।

एमालेका सांसद अधिकारीलाई माओवादी केन्द्रकी सांसद चाँद तारा कुमारीले जवाफ फकाईन, ‘असंवैधनिक रुपमा प्रतिनिधिसभा विघटन अति निन्दनीय थियो । त्यो भन्दा बढी निन्ददीय यहि पुनस्थापित संसदमा आएर नैतिकताको पाठ सिकाउनु रहेको छ ।’

राष्ट्रवादी सरकार खै ?

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले भारतले नेपालको सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा वर्तमान सरकार कहाँ छ भनी प्रश्न गरे ।

सांसद बडूले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँ पारिपट्टी भारतले तीन महिनादेखि एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको बताए । उक्त तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गरे ।

‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषणमा मात्रै हो ?’ उनले प्रश्न गरे ।

सीमा क्षेत्रमा भइरहेको निर्माण तत्काल रोकिनुपर्ने भन्दै उनले रोक्ने निर्देश्न सिडिओलाई दिन सरकारलाई आग्रह गरे । र अर्को बैठकमा सरकारबाट आफुले जवाफ चाहेको उनले बताएका छन् ।

नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई सोधेका छन् ।

‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित ग¥यो । सबै राजनीतिक पार्टीले एकमतले पास ग¥यो, उनले भने, सरकारले लोगो माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि हामी लोगो लगाएर हिड्ने ? लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ ?’

नेकपा एमालेकी सांसद तुलसी थापाले सिमामा नेपालको भूमिमा व्यापक अतिक्रमण भइरहेको बताइन् । बर्दिया जिल्लाको नेपाल भारत सीमानामा व्यापक तस्करी पनि भइरहेको भन्दै उनले सरकारको ध्यानाष्र्कण गरिन् ।

कोभिड –१९ को चिन्ता

सांसदहरुले कोरोना भाइरसको महामारी नियन्त्रणमा प्रभावकारी हुनुपर्ने भन्दै त्यस अनुसार काम हुनुपर्ने भनी सरकारको ध्यानाकर्षण गरे ।

सांसद अन्जना विसंखेले कोभिड–१९ भाइरसले नयाँ रुपमा जन्म लिएको सम्बन्धमा विज्ञासा राखिन् । उनले कोभिडबारे स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिइन् ।

अर्का सांसद अमनलाल मोदीले कोभिड–१९ को महामारी पछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको बताए ।

सांसद केदार सिग्देलले भारतमा फेरी दोस्रो चरणको कोभिड–१९ महामारी शुरु भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशिघ्र कदम चाल्न आवश्यक भएको

सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढीरहेकोले तराई क्षेत्रमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन बढाउन माग गरिन् ।

निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ ?

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोइ ? भन्दै सरकारलाई सोधेकी छन् । दिनदिनै वलात्कार र हतया हुँदा समेत सरकारले यो विषयलाई प्राथमिकतामा नराखेको उनको भनाई छ ।

दैनिक शिोरीहरुको वलात्कार गरी हत्या भइरहेको छ । यो सवाल सरकारको प्राथमिकतामा किन पर्दैन ?’ उनको प्रश्न छ, ‘निर्मला पन्तको हत्यारा खोइ ? कहिले पत्ता लाग्ने हो ?’

हत्या, हिंसा तथा वलात्कारका अपराधिहरुलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरेकी छन् ।

नेकपा माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षिय मुसाफिर झा र उनकी पत्नी गितादेवी झा वेपत्ता रहेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

उनीहरुको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको उल्लेख गर्दै उनले घटनाको दोषि पत्ता कानूनी कारबाही गर्न माग गरिन् ।