वर्षाले बाग्लुङका पाँच पुलमा क्षति, विद्युत उत्पादन बन्द

२८ भदौ, काठमाडौं ।
वर्षासँगै आएको बाढीले बाग्लुङका पाँच झोलुंगे पुलमा क्षति पुर्याएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा बाढीले दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।

मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । उनका अनुसार पुल मर्मत सम्भार गर्नका लागि मात्रै पनि झन्डै एक करोड रूपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ ।

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।

‘अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ’, अध्यक्ष घर्तीले थपे, ‘बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् र सडकमा क्षति पुगेको छ ।’ उनले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताएका छन् ।

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

(रासस)
(फाइल फोटो)