सुनखानीमा पहिरो जाँदा ५० कामदारको मृत्यु

२८ भदौ, काठमाडौं ।
कंगोको एउटा सुनखानीमा पहिरो जाँदा कम्तिमा पनि ५० जनाको ज्यान गएको छ । मृतकमा सबै खानीका कामदार छन् ।

त्यहाँ पछिल्ला दिनमा भारी वर्षा भइरहेको कारण पहिरो गएको बताइएको छ । कंगोको दक्षिण किबु प्रान्तको कमितुगा सहरमा शुक्रबार घटना भएको हो ।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन् । ‘पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रान्तीय प्रशासक कासीले उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेको जनाएका छन् । खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेपछि पहिरो गएको हो । घटनापछि त्यहाँ दुई दिने शोकको घोषणा गरिएको छ ।

(एजेन्सी)