भदौ २८, काठमाडौं ।
पूर्वअधिराजकुमारी प्रेरणा शाहले नेपाल ट्रस्टको नाममा आइसकेको ताहाचलस्थित जग्गा छाड्न आनाकानी गरिरहेकी छिन् । पछिल्लोपटक उनले ट्रस्टसामु जग्गा खाली गर्न थप एक वर्षको समय माग गरेकी छिन् ।
ट्रस्टका सहसचिव बाबुकाजी श्रेष्ठले भने, ‘दुई साता अघि वहाँले थप एक वर्ष सो जग्गा प्रयोग गर्न पाउँ भनेर निवेदन दिनुभएको छ । तर हामी अब खाली गराउने प्रक्रियामा लाग्छौं ।’ पछिल्लो पटक पनि ६ महिना समय दिएकाले थप समय दिने पक्षमा आफूहरू नरहेको उनले बताए ।
उक्त जग्गाको अहिले बजारभाउ पौने दुई अर्ब रूपैयाँ हाराहारी रहेको छ । जम्मा १५ रोपनी र एक आना जग्गाका साथै उक्त घर समेत ट्रस्टको नाममा जानेगरी सर्वोच्चबाट फैसला भएको छ ।
झन्डै १४ वर्ष अघि नै ट्रस्टको नाममा आइसकेको जग्गाको विषयमा उनी अदालत गएकी थिइन् । त्यसै बेलादेखि चल्दै आएको कानूनी लडाइले अन्ततः ट्रस्टकै पक्षमा फैसला भएको छ । तर प्रेरणाले पटक–पटक समय मागिरहेकी छिन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत उक्त जग्गा दिएको प्रेरणाको जिकिर रहँदै आएको छ । यस विषयमा सर्वोच्चमा तीन पटक फैसला भइसकेको छ । पहिलोपल्ट ट्रस्टको विपक्षमा, जग्गा प्रेरणाकै हुने भनी २०७२ असारमा फैसला भएको थियो ।
नेपाल ट्रस्टको कार्यालय यसको विपक्षमा पुनरावलोकनका लागि गएपछि फैसला उल्टिएको थियो । पुष २०७३ मा फैसला गर्दै सर्वोच्चले आफ्नै पुरानो फैसला सच्याउँदै उक्त जग्गा ट्रस्टकै नाममा रहने फैसला सुनाएको थियो ।
फेरि उनले संवैधानिक इजलासमा ट्रस्ट नै खारेज हुनुपर्ने भन्दै निवेदन दिएकी थिइन् । तर इजलासले उनको रिट खारेज गरिदियो ।
ट्रस्टले उनलाई जग्गा खाली गर्न सूचना निकाले पनि उनले समय माग गरेपछि ६ महिनाको समय उपलब्ध गराइएको थियो । तर यस पटक भने समय नदिइने र बल प्रयोग गरेरै भए पनि सो जग्गा खाली गराउने पक्षमा आफूहरू रहेको ट्रस्टको कार्यालयले जनाएको छ ।







