परिवर्तन उल्ट्याउने शक्तिबाट चलखेल भयो : अध्यक्ष दाहाल

वैशाख, ६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताए । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आइतबार माडीमा सम्बोधन गर्दै उनले गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताए ।

उने भने, “अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरि तत्व लागिपरेका छन् ।” संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएसँगै यसको फाइदा लिँदै परिवर्तन नचाहने यसलाई उल्ट्याउन लागिपरेको उनको भनाइ थियो ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, “७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।” केही दिनमा नै नयाँ युगको शुरुआत हुने भन्दै उहाँले कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको बताए । उनले भने, “प्रदेशबाट शुरु भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।”

आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताउँदै उनले प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराएको दाबी गरे । आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उनले अन्तिम अवस्थासम्म एकता गराउने बताए । फरक प्रसङ्गमा उहाँले निकुञ्ज र माडीवासी बीचको सम्बन्ध सुधारका लागि निकुञ्ज ऐन संशोधनका लागि आफू लागिपरेको जानकारी दिए । माडीका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने तवरले आफ्ना कार्यक्रम गाउँस्तरमा पु¥याउन कार्यकर्तालाई निर्देशन दिए ।

सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, वाइसिएल चितवनका इञ्चार्ज सन्तोष पनेरुलगायतले बोलेका थिए । वाइसिएलका माडी अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेलाई दाहालले स्वागत गरेका थिए । यसअघि अध्यक्ष दाहालले माडी नगरपालिकाको कार्यालय उद्घाटन, खोला नियन्त्रणका लागि बनाइएको ड्यामको निरीक्षण, दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालयको उद्घाटन, रामधामको निरीक्षण र सडक उद्घाटनलगायत कार्यक्रममा सहभागी भएका थिए ।