असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

वैशाख, २१ पाँचथर । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो । “उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो”, वडाध्यक्ष ढुङ्गेलले भने, “पाहुना आएकाहरुमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।”

यहाँका सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए । “गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौँ”, उनले भने । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताउनुभयो । “पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताए अस्पताल लैजाने तयारी गरेका छौँ”, ढुङ्गेलले भने ।

यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । आज बिहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए ।

अत्यावाश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि सात दिनका लागि बन्द गरिएको जनाएको छ ।

यस्तै आठ सङ्क्रमित फेला परेको याङवरक–१ को ठिङ्गेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । गाउँपालिकाले व्यापार–व्यवसायसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल बिहान ६ बजेदेखि १० बजेसम्म तथा अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने भएका छन् । अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारी साधनलाई बजारी क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, खेलकूदसहितका भीडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र सङ्क्रमणबाट बच्न सावधानी अपनाउन गाउँपालिकावासीमा अपिल गरेको छ । हिजो गरिएको एन्टिजेन परीक्षणमा याङवरक–१ का चार पुरुष र चार महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।