किरण पौड्याल
आज म समुद्र्रको पानीको गणना गर्दैछु । मतलब, जुन कुरा सम्भव छैन, त्यही विषय उठाएर जोखिम मोल्दैछु । दुई दशकभन्दा पहिले सुनेको शब्दको वर्णन गर्ने जमर्को कस्दैछु । जुन शब्द सुन्न मात्रै होइन, बोल्ने हिम्मत गरेको थिए । अनि बोलेको थिए । तर, अचम्म मलाई थार्है छैन । जुन शब्द हो, आ…मा ।
मानिस स्वभावैले भावुक होला वा रोमान्टिक । आमा शब्द छोटो वा दुई अक्षरको होला तर कति गहिरो र मन छुने छ । अनेक अर्थ लाउन सकिएला । माता, जननी वा अरु कुनै । तर, मनमा मिल्ने सन्तुष्टि आमा मात्रैमा हुन्छ । म विचार गर्छु जसले मलाई जन्म दियो । त्यही मान्छे मैले चिन्न छ महिना लाग्यो ।
जसका दश धारा खाएर मेरो पेट अगायो, त्यही मान्छे बुझ्न आधा बर्ष लाग्यो । मेरो बोली,हाँसो, वानी व्यवहार देखेर स्वर्गै आनन्द महसुस गर्ने प्राकृतिक तत्व आमा बाहेक अरु कुनै होइन । हो, आज आमाको मुख हेर्ने दिन । मातातीर्थ औशी । हरेक बर्षमा एक पटक आउँछ ।तर दिलमा बर्षैभर बस्छ । जीवनका कालखण्ड सम्झना आउँछ । कुनै समय नरमाइलो,झगडा वा कुनै काम गरियो ।
सम्झँदा कतिपय स्मृति वेतुक लाग्छ । खिन्नता बोध हुन्छ । तर, आमासँगको हरेक समय विशेष लाग्छ । सम्झना गरौन ।
जसले बच्चा जन्माउने निर्णय लिएर मनमा संकल्प लियो । अनि संकल्पसहित गर्भाधान गर्यो । नौ महीना अनेक दुःख बोक्यो । कल्पनाभन्दा बाहिरको कुरा हो ।
सायदै अर्को मान्छेका लागि गरिरे हरक दुःखभन्दा माथिको दुःख आमाले गरेको हुन्छ । दश महीनामा पृथ्वीमा भारी विसाउँदा एक आनन्द होला तर अनेकन समस्या देखिन्छन् । जो एउटा बच्चाको अनुहार हेरेर आफ्ना वेदना विर्सिदिन्छ, त्यो आमा बाहेक अरु को हुन सक्छ र ? मलाई जति सम्झना आउँछ, त्यो पल आमाले ९९ प्रतिशत दुःखपछिको पल हो ।
आमाले कहिले बच्चाका बारेमा सोचिनन् ? जब आमाले मलाई जन्माइन्, त्यसपछि समाजलाई र परिवारलाई एउटा उत्तर आमाले दिइन् । प्राकृतिक रुपमा एउटी महिला पूर्ण महिला हुनका लागि समाजका लागि बच्चा जन्माइदिइन् ।
हाम्रो समाज हरेक समय मान्छेको परीक्षा लिन तयार छ । जुन परिवारमा विवाह पछि बच्चा जन्माउँदैन, हरेक दिन, घण्टा, मिनेटमा समाज उत्तर खोजिरहन्छ ।
यसका लागि पनि एउटी महिलाले बच्चा थमाइदिनु पर्छ । अनि परिवार, अनेक पीडा, खटपटी सहेर जन्माउने एक महिला तर त्यसको जस पुरुषले पाउँछ । होला भूमिका दुवैको होला । तर, कति, कस्तो दुःख थियो परिवारले बुज्ला नबुज्ला ?म यो उमेरमा पुगे । म आफ्ना खुट्टामा उभिन सक्ने भए तर आज पनि आमा नानी बराबर देख्छिन् ।
मलाई उनीबाट टाढा देख्दिनन् मतलब उनका आँखाले मलाई छाड्दैन वा छाड्न खोज्दैन । मेरा कति काम हुन्छन् । त्योभन्दा बढी उनका हुन्छन् । ती सबै सकेर मेरा बारेमा बुझ्छिन् आमा । हो,म विग्रिए होला । तर, आमाको नाम दिमागमा आउने वित्तिकै पटकपटक सोच्छु ।
मेरो मनमा आमा छिन् । जो रिर्मोट सरी व्यवहार गर्दै । राम्रा कामका लागि दबाउन आग्रह गर्छिन् नराम्राका लागि वटम लाइन अफ गर्दिन्छिन् । हरेक पटक लाग्छ, मैले मेरी आमा खुसी राख्नु पर्छ । मेरो पहिलो लक्ष्य यही हो अनि अन्तिम पनि । तर, म कहाँ चुक्छु, त्यो कहिलै सक्दिन । म आमा सम्झेर कुनै खानेकुरा उनलाई दिन्छु, उनी कपाकप खाइदिन्छिन् ।
उनको शरीरमा त्यो खाद्यवस्तु विषाक्त वन्ला तर सन्तानको मायाका लागि हरेक पटक उनी शरीर आहुती दिइरहेकी हुन्छिन् । अनि केही लाउने वस्तु उनलाई दिन अघि सार्छु । उनी त्यसलाई नकार्न सक्दिनन् । किनकि उनलाई ठिक होस् वा नहोस् उनी स्वीकार्दिन्छिन् । मैले हरेक पटक देखेको छु । आमाले मलाई सुकिलो कमलमा सुताएर उनी च्यातिएको सिरक ओडेकी छन् । मलाई खाटमा सुताएर गुन्द्रीमा लडेकी छिन् । यो सब केका लागि ? आमाले आफ्नो भविष्य देख्दिनन् । उनले आफ्नो भविष्य मलाई सुम्पेकी छन् ।
मेरो मोबाइलमा हरेक किसिमका घण्टी बज्छन् । कोही स्वार्थ लुट्ने वा कोही बेतुकमा गफ दिने । कोही भोट माग्ने त कोही सामान माग्ने । कोही काम दे भन्ने त कोही समय दे भन्ने । तर, त्यसैमा एउटा नौलो घण्टी बज्छ, जुन घण्टी स्वार्थ, गफ, भोट वा कुनै वस्तु माग्न बज्दैन । केही दिन वज्छ । यो घण्टीको पहिलो प्रश्न मेरो हृदयस्पर्शी हुन्छ । जुन मैले पहिले ढाटेर पनि अर्को पटक सत्य बोलेको छु ।
हो, मैले मेरी आमा खुसी पार्न हरेक पल्ट झुटो बोलेको छु । कुनै दिन म आधा रातसम्म काममा व्यस्त हुन्छु । फोन आउँछ । म आमाका लागि मेरै वासास्थानमा भन्छु । आमाले कुनै न कुनै रुपमा बुझिदिन्छिन् । अनि सत्य डर्काछु । उनको मन, हृदय, मस्तिष्क सबै वस्तु एउटै विषयमा केन्द्रित छ । त्यो हो, सन्तान । सन्तान वा म ।
कहिल्यै लेख्न नसकिने वा अनन्त शब्द हो, आमा । आमाको गरिमा भाड्नका लागि बजारमा अनेक शब्द आएका छन् । अनि कष्मेटिक आमा पनि । जो सन्तानलाई आमाको सेवा दिदैनन् । ती आमा कटु स्वार्थका आमा हुन् । आमा शब्द अथ्र्याउनका लागि नै म्याक्सिम गोर्कीले किताब लेखे । जुन युद्धसँग सम्बन्धित छ । तर, पूरा हुनै नसक्ने एउटा वियोगान्त वास्तविक कथा छ, कितावमा । गोर्कीले आमा लेख्दा कतिपटक आँशुले मुख पुसे होला तर पढ्दा धेरै पटक आँशु पुस्नु पर्छ । नेपालमै पनि आमा अथ्र्याउनका लागि अनेक प्रयत्न भएन । एक निर्देशकले कुनै कालखण्डमा आमा चलचित्र बनाएछन् ।
अनि त्यसैलाई चित्त नबुझेर गत बर्ष अर्का निर्देशकले त्यही शीर्षकमा अर्को चलचित्र बनाएछन् । चलचित्र रामै्र चल्यो । तर, चलचित्र बसेको अधिकांश शोकमा डुबेझैं देखियो । हो, आमाको महत्व त्यति बेला थाहा हुन्छ । सायद एउटा सन्तान रुन पुग्छ । आमाको जीवनमा सुख भन्ने शब्द केही हुँदैन । सन्तान नजन्माउञ्जेल जन्माउनको पिरलो ।
जन्माएपछि हुर्काउनको सकस । आज सम्म बाबुले सन्तान मारेको, सन्तानले आमा, बाउ मारेको खबर धेरै पटक सुने तर आजसम्म छैन, आमाले सन्तान मारेको । यदि सुनेपनि त्यो हुन सक्दैन । जसले आमाको चित्र र मर्म बुझेको हुन्छ । त्यहाँ आमा,छोरा बीच काटमार त परकै कुरा वैमनस्य पनि हुँदैन । थाहा छ, मलाई आमा शब्दको अर्थ घट्दो क्रममा छ । आमाको सस्ता पर्यायबाचीले पनि इमान घटाएको छ भने सामाजिक सञ्जालका रंगीन फोटोग्राफीले मानमर्दन गरेको छ । प्रत्येक बर्ष सामाजिक सञ्जालमा आमाको तस्बिर देखाउनेलाई के थाहा आमाको महत्व सामाजिक सञ्जालमा भन्दा मनमा वा आत्मामा हुन्छ भन्ने कुरा ।
यो नटुंगिने विषय हो, भावानात्मक दुई अक्षर नै यसका लागि अनेक अर्थाउने मूल जड हो । हरेक दिन मेरा लागि मातातीर्थ औशी हो । ताकि कुनै दिन मैले आमा वा माता नसम्झिएको होस् । उनी मेरो मनमा नआउनु सायद नीदमा मात्र होला । म पनि यही समाजको पात्र भएकाले सामाजिक सञ्जालमार्फत नै मेरी आमाको सम्झना गर्न चाहन्छु । मातातीर्थ औशीको शुभकामना,आमा ।







